विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो ।

अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेपाली कांग्रेसकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य तथा लोकगायिका विद्या तिम्लसीनालाई सम्मान गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मान बाट पत्रकारत्रय तुलसी गिरी, लक्ष्मण सुवेदी र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो ।

यस्तै युवा उद्यमी ऋषिराम कँडेल, युवा व्यवसायी विकास श्रेष्ठ, पर्यटन व्यवसायी रामप्रसाद श्रेष्ठ, महिला उद्यमी कल्पना थापा, सामाजिक अभियन्ता राजन थापा, वरिष्ठ चलचित्रकर्मी विनोद सेरेङ, प्रेरक वक्ता अर्पण शर्मा, सामाजिक अभियन्ता विकासकुमार दास, नृत्य निर्देशक नारायण रिजाल, छायाँकार तथा सम्पादक वीरेन्द्र भाट ‘विपिन’, ध्वनी सम्पादक मनोज परियार, भिडियो निर्देशक कुमार आचार्य र गायक सुरज पौडेललाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो ।

 

अवार्डका जुरी वरिष्ठ सङ्गीतकार राजु सिंह र लोक सर्जक इन्द्र जिसीलाई मायाको चिनो प्रदान गरिएको थियो । यस्तै सौन्दर्यविद् गीता शाह र गीतकार रमेश दाहाललाई पनि जुरी सम्मान गरिएको थियो । अवार्ड समारोहमा नृत्य प्रस्तुत गर्ने कलाकार शोभा भण्डारी र बेदबहादुर बुढोथीकोलाई कदर पत्र प्रदान गरिएको थियो ।

 

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको यो अवसरमा भएको अवार्ड समारोहमा विभिन्न स्रष्टा सर्जकलाई अवार्ड प्रदान तथा आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्नु आफैँमा एकदम राम्रो कार्य भएको प्रमुख अतिथि मन्त्री रेग्मीले बताउनुभयो ।

 

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले गतवर्षदेखि सुरु गरेको अवार्ड यस वर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष गणेश सुवेदीले बताउनुभयो । यसपालीको अवार्डमा साहित्यलाई पनि समावेश गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्ड समारोहमा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र बाल गीत साथै साहित्यका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँच बाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।

सञ्चारकर्मी दीपज्योती थापाले सहजीकरण गरेको अवार्ड समारोहमा विमेन्स एराकी अध्यक्ष प्रतिमा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.