भुम्लु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विद्यालयहरुको अनुगमन

भुम्लु  गाउँपालिकाबाट पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलको नेतृत्वमा गएको टोलीले पालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेको र सबैले इमान्दारी भएर जिम्मेवारी पूरा गर्नुपर्ने अध्यक्ष भुजेलले बताउनुभएको छ ।अनुगमनको क्रममा विद्यालयको भौतिक पूर्वाधारको अवस्था कमजोर देखिएका विद्यालयहरुलाई पालिकाको तर्फबाट आर्थिक लगायतका पक्षमा सहयोग पुर्याउने अध्यक्ष भुजेलले प्रतिबद्धता जाहेर गरेका छन् ।

विद्यालयको शैक्षिक गुणस्तरलाई चुस्त दुरुस्त राख्नका लागि सम्मान, पुरस्कार र दण्डको व्यवस्थालाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुहुँदै सामुदायिक विद्यालयहरुप्रति समाज र सम्बन्धित विद्यालयका शिक्षकहरुको व्यवहारमा परिवर्तन ल्याउनु चुनौतीपूर्ण रहेको समेत अध्यक्ष भुजेलले व्यक्त गरेका छन् । अनुगमनका क्रममा देखिएका बेथितिहरुको अन्त्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र विद्यालयको शैक्षिक वातावरणलाई स्वस्थ र गुणस्तरीय बनाउनका लागि विद्यालयको तर्फबाट सुझाव पेश गर्ने समेत अध्यक्ष भुजेलले आग्रह गरेका छन् ।

बिज्ञापन

भुम्लु गाउँपालिका शिक्षा इकाईले जानकारी गराएअनुसार ४३ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । पालिकाले सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढाउन र गुणस्तरीय शिक्षा हासिल होस् भन्नाका खातिर शिशु कक्षादेखि १० सम्म अध्ययनरत बालबालिकाहरुका लागि दिवा खाजाको व्यवस्था गरेको पालिकाका अध्यक्ष भुजेलले जानकारी दिए ।

नेपाल सरकारले कक्षा ६ सम्म दैनिक प्रति विद्यार्थी बराबर १५ रुपैयाँको दरले दिवा खाजा व्यवस्था गरेको भएपनि पालिकाले त्यसमा १० रुपैयाँ थपेर कक्षा १० सम्मका विद्यार्थीहरुलाई २५ रुपैयाँका दरले खुवाउने आ.व. ०७८÷०७९ को बजेट मार्फत् विनियोजन गरिएको पालिकाका उपाध्यक्ष जितेन्द्र मान तामाङले जानकारी दिए ।

उक्त अनुगमनमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखाका फोकल पर्सन र स्थानीय बुद्धिजीविहरुको सहभागिता रहेको थियो