

काभ्रेपलाञ्चोक — गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संघीय सरकारको अनुदानमा खानीखोला गाउँपालिका लघु उद्यमी विकास शाखा खानीखोलाको आयोजनामा मोटर ड्राइभिङ तालिम सुरु गरिएको छ।

गाउँपालिका वडा नं. १ देखि ७ सम्मबाट प्रत्येक वडाबाट ३/३ जना सहभागी गराई सञ्चालन गरिएको उक्त तालिमका लागि करिब १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ। हाल गाउँमै सुमो गाडीमार्फत प्रशिक्षण सञ्चालन भइरहेको छ।


तर तालिम सञ्चालनको प्रक्रियालाई लिएर स्थानीय स्तरमा चौतर्फी विरोध सुरु भएको छ। स्थानीयवासीले सार्वजनिक सूचना बिना, पारदर्शी प्रक्रिया अपनाउन नसकी एकलौटी ढंगले सहभागी छनोट तथा तालिम सञ्चालन गरिएको आरोप लगाएका छन्।
स्थानीयहरूले तालिमको गुणस्तर र प्रभावकारितामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूको भनाइ छ, “सुमो गाडीबाट मात्रै सीमित अभ्यास गराएर सहज रूपमा लाइसेन्स प्राप्त गर्न सकिन्छ त ?”
यातायात सम्बन्धी मापदण्डअनुसार व्यवस्थित प्रशिक्षण, दक्ष प्रशिक्षक तथा सुरक्षित अभ्यासस्थल आवश्यक पर्नेमा सार्वजनिक स्थानमै यसरी ड्राइभिङ सिकाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
तालिम सञ्चालनमा पारदर्शिता, मापदण्डको पालना र प्रभावकारी व्यवस्थापन हुनुपर्ने माग स्थानीयवासीले गरेका छन्। यद्यपि, यस विषयमा गाउँपालिका तथा सम्बन्धित आयोजक पक्षले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।


