काभ्रे: बिश्व माटो दिवसको दिन आज पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न भएको छ । माटो जाँचका क्रममा पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ । तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्।
आज बिश्व माटो दिवसको अवसरमा पनौती नगरपालिकाको प्रांगणमा आयोजित बृहत माटो जाँच शिविर तथा कृषि चुन वितरण गरिएको छ। ‘माटोको अम्लीयकरण रोकौ, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नाराका साथ अम्लीयपना धेरै भएका किसानलाई नि:शुल्क कृषि चुन वितरण गरिएको छ।
पनौतीका १२ ओटै वडाका विभिन्न क्षेत्रका ४ सय भन्दा बढी माटोको नमुना परिक्षणमा जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको माटो तथा मल परिक्षण प्रयोशाला हेटौडाका डाक्टर जनार्दन खड्काले बताउनुभयो। तेसपछी माटोमा प्रांगारिक पदार्थको मात्र पनि कम पाईएको डाक्टर खड्काले जानकारी दिनुभयो। साथै उहाँले नेपालमा खेतियोग्य जमिनको ५० प्रतिशत भन्दा बढी माटोमा अम्लीय समस्या रहेको बताउनु भयो। बागमती प्रदेशमा ७० प्रतिशतसम्म माटोमा अम्लीय समस्या रहेको जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पनौतीका नगर प्रमुख भिम न्यौपानेले पनौती नगरलाई समृद्द बनाउन कृषि र पशुपालनमा उन्नत तवरले बिकास गरेर मात्र सम्भव भएको उल्लेख गर्नुभयो। नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा माटो परिक्षण र कृषि चुन वितरण गरिएको र आगामी दिनमा पनि कृषि र पसुपालानका हरेका कार्यक्रममा नगरपालिकाले कृषकसंग हातमा हात मिलाउदै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
यस्तै, कृषि ज्ञान केन्द्रका तर्फबाट तेज प्रसाद दवाडीले माटोको अम्लीयकरण रोक्न सकियो भने पनि कृषि उत्पादनमा दोब्बर वृद्धि हुने बताउनुभयो। माटोको अम्लीयपनाको रोकथामको लागि कृषि चुन प्रमुख औषधि रहेको उहाले उल्लेख गर्नुभयो।
संकलित नमुना विश्लेषण गर्न उपकरन्हारू जडित घुम्ती प्रयोशालाबाट माटोको पी.एच प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फरस र पोटासको परिक्षण गरिएको थियो। माटो दिवसको अवसरमा माटो तथा मल परिक्षण प्रयोशाला हेटौडाको तर्फबाट १० मेट्रिक टन र पनौती नगरपालिकाबाट १० मेट्रिक टन कृषि चुन र केहि कृषि तत्वहरु नि:शुल्क वितरण गरिएको थियो।
कृषि तथा पशु बिकाश समितिका संयोजक गुणनाथ सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा, विभिन्न वडाका वडा अध्यक्षहरु, माटो परिक्षण संलग्न प्राविधिकहरु, किसान तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन कृषि तथा पशुपंक्षी शाखाका प्राविधिक अधिकृत लिलानाथ सापकोटाले संचालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.