
काठमाडौं, असोज ७ — प्रधानमन्त्री बालेन शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन्।

त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।


सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक अवरोध हुनसक्ने जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी नदी तथा खोलानजिकका क्षेत्र, पहिरोको जोखिम भएका बस्ती र सडकखण्डमा सतर्क रहन तथा पानी परिरहेको समयमा र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न नागरिकलाई अनुरोध गरेका छन्।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनसमेत आग्रह गरेेका छन ।

