ऋषि पञ्चमी पर्व किन मनाइन्छ

काठमाडौँ । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष धार्मिक श्रद्धा र आस्थाका साथ मनाउने महत्वपूर्ण पर्वमध्ये ऋषि पञ्चमी पनि एक हो। यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ।

ऋषि पञ्चमीका दिन सप्तऋषि—कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ—को पूजा आराधना गर्ने धार्मिक परम्परा छ। महिलाहरूले बिहानै स्नान गरी पवित्र भएर ऋषिहरूको पूजा गर्ने तथा विभिन्न धार्मिक विधि पूरा गर्ने चलन रहेको छ।

बिज्ञापन

धार्मिक मान्यताअनुसार महिनावारीका समयमा अनजानेमा भएका त्रुटि तथा अशुद्धिबाट मुक्त हुन ऋषि पञ्चमीको व्रत तथा पूजा गरिने विश्वास छ। यस दिन विशेषगरी दतिवनले दाँत माझ्ने, स्नान गर्ने, शुद्ध भएर पूजा गर्ने र सप्तऋषिलाई अर्घ्य दिने परम्परा पाइन्छ।

ऋषि पञ्चमीलाई आत्मशुद्धि, धार्मिक आस्था र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। पछिल्लो समय भने महिनावारीलाई अशुद्ध मान्ने पुरानो धारणामाथि प्रश्न उठाउँदै यस पर्वलाई महिला स्वास्थ्य, स्वच्छता र सांस्कृतिक परम्परासँग जोडेर बुझ्नुपर्ने आवाजसमेत उठ्दै आएको छ।

यस पर्वले नेपाली समाजमा पुस्तौँदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।