शिव कैलाश कला मन्दिरको आयोजनामा छैटौँ एकल नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

काठमाडौ  — कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताका नृत्य प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिर काठमाडौंले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको सभाहलमा गत बुधबारदेखि पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका करिब ६०० विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गरेका थिए। अडिसनबाट करिब ५० विद्यालयका विद्यार्थी छनोट भएका थिए।
विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ट्रफी जितेको आधारमा सभ्यता पाठशाला, रानीवन प्रथम, मिलन धर्मस्थली, तारकेश्वर द्वितीय र काठमाडौं लिंकन स्कुल, तारकेश्वर तृतीय भएका छन्। प्रत्येक विधाका उत्कृष्ट १० विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो।
समापन समारोहमा वरिष्ठ नृत्य निर्देशक कमल राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजु शाह, चलचित्र विकास बोर्डका सदस्य तथा गीतकार गणेश सुबेदी, नृत्य निर्देशक तथा प्राज्ञ महेश गोदारलगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक नारायण रिजालले गरेका थिए।
अध्यक्ष रिजालले नेपाली मौलिक कला, संस्कृति र नृत्यप्रति नयाँ पुस्ताको रुचि बढाउँदै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले १०० भन्दा बढी विद्यालय, कलेज तथा संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रतियोगितालाई ओखती आयुर्वेद, सेरा डिजिटल, लायन्स क्लब दीर्घजीवी तथा विनायक अस्पतालले सहयोग गरेका थिए।

बिज्ञापन