
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आगामी मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ।


सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टाको भेटवार्तामा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट मात्र आर्थिक आत्मविश्वास अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।


भेटका क्रममा प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउने, बैंकको ब्याजदर तथा कर्जा सर्तलाई उद्यममैत्री बनाउने र मौद्रिक नीतिका आवश्यक सीमाहरू खुकुलो पार्ने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभएको बताइएको छ।


त्यसैगरी, महिला तथा पिछडिएका क्षेत्रका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न मौद्रिक उपकरणहरूको प्रभावकारी परिचालन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो।
जवाफमा गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंक आगामी मौद्रिक नीतिलाई थप व्यावसायिक, सन्तुलित र लचिलो बनाउने दिशामा प्रतिबद्ध रहेको बताउनुभयो। अर्थतन्त्रलाई गति दिनु सरकार र राष्ट्र बैंकको साझा लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्मलाई सहज वातावरण उपलब्ध गराउने गरी आवश्यक नीतिगत सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो।

