एक्सप्रेस साकोसको १७ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न

 

बनेपा – एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । भाद्र २३ गते संस्थाको कार्यालय भवनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्व रहेको थियो ।

बिज्ञापन

सभामा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु, कर्मचारी र सदस्यहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८१/८२ को सचिवीय प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष प्रेम कुमार लामाले सोही आर्थिक वर्षको बजेट, वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेस गरेका थिए । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक पुजन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अरुण थापाले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष ईश्वर के.सी.ले सदस्यहरूले देखाएको माया, विश्वास र सद्भावकै कारण एक्सप्रेस साकोस आज सहज, सरल र सुरक्षित संस्थाको रुपमा परिचित हुन सफल भएको बताउँदै सम्पूर्ण सदस्य, सरोकारवाला निकाय र शुभचिन्तकप्रति आभार व्यक्त गरे । उनले सहकारीका मूल्य–मान्यता र सिद्धान्तलाई परिपालन गर्दै ऐन–कानुनको दायरामा रहि सदस्य–केन्द्रित कार्य गर्ने प्रतिबद्धता जनाए ।

संस्थाको आ.व. २०८१/८२ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु. १७ करोड ३६ लाख ३३ हजार ८२७.५९ पुगेको छ भने शेयर पूँजी रु. १ करोड ७७ लाख ६८ हजार ८०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार ३३.५२% तरलता व्यवस्थापन र १४.७६% संस्थागत पूँजी देखिएको छ । बाह्य सापटी शून्य रहेको संस्थाले सोही वर्षमा रु. ४८ लाख ४१ हजार ४६५.६३ संचालन मुनाफा आर्जन गरेको जनाएको छ ।

जगेडा लगायत अन्य कोषमा रु. ३ करोड ३४ लाख ९६ हजार ३३३.४२ निर्माण गरिएको र राज्यकोषलाई कर स्वरुप २० लाख २६ हजार २५८.८० योगदान गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आकारमा ठूलो भन्दा पनि स्वस्थ, सुरक्षित र दिगो सहकारीको पहिचान कायम गर्दै सदस्यलाई केन्द्रमा राखेर अघि बढ्नु नै मुख्य उद्देश्य भएको अध्यक्ष के.सी.ले बताए । प्रमुख कार्यकारी अधिकृत अरुण थापाले पनि सदस्यहरूको सक्रिय सहभागिता र सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।