
सर्लाही — जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिसाल बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।


मलंगवा नगरपालिका–१० स्थित डिम्पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०५–००१ प १९०६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा जाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र सोही स्थानका २४ वर्षीय रूपेश कुमार यादव रहेका छन्। प्रहरीका अनुसार मोटरसाइकलको ट्याङ्कीमाथि राखिएको रातो–निलो झोलाभित्रबाट १ हजार दरका २ हजार ५ सय थान (२५ लाख रुपैयाँ), ५ सय दरका १ हजार ३ सय थान (६ लाख ५० हजार रुपैयाँ) र १ सय दरका ५ सय थान (५० हजार रुपैयाँ) गरी जम्मा ३२ लाख रुपैयाँ बरामद गरिएको हो।


बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरी निरीक्षक बिसाल बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उक्त सफलता हासिल गरेको हो।

