काभ्रेपलान्चोक – शान्तमणी रिजाल काभ्रे जिल्लाको सहकारी क्षेत्रमा एक सुपरिचित नाम हो । २०६६ साल देखी सहकारी क्षेत्रमा आवद्ध रहेर काभ्रे जिल्लाको सहकारी क्षेत्रमा ठूलो योगदान दिनु भएको छ । पछिल्लो समय उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रबन्धक तथा संचालक भएर काभ्रेली जनताको लागि सहकारी क्षेत्र बाट सेवा दिदै आउनु भएको छ । युवाहरुले पनि सहकारी क्षेत्रमा केही गर्ने सक्छन् भन्ने अठोटका साथ सहकारी क्षेत्रमा केही परिवर्तनका गर्नु पर्छ भन्ने उदेश्यले यस क्षेत्रमा लागेको बताउनु भयो ।

रिजालले मिडिया क्षेत्रमा समेत काम गर्नु भएको छ । उहाँले नेपाल समाचार पत्र दैनिकमा झण्डै २ वर्ष काम गर्नु भएको थियो ।त्यसपछि स्राइम्स मिडिया प्रालिको संचालक भएर अहिलेसम्म पनि काम गरिरहनु भएको छ । नेपाली पत्रकारिताको क्षेत्रमा पनि लामो समय काम गरेको अनुभव रहेको छ । रिजाल धेरै क्षेत्रमा लागेर लामो अनुभवहरु बटुल्दै हाल सहकारी क्षेत्रमा निरन्तर लागिरहनु भएको छ ।

पछिल्लो समय देशको अर्थतन्त्रमा कोरोना भाइरसको ठूलो प्रभाव परेको अवस्थामा सहकारीहरुले पनि देशको अर्थतन्त्रलाई उकास्न केही सहयोग गर्ने गरेका तथ्यलाई नकार्न सकिदैन । २०६६ सालमा विधिवत रुपामा दर्ता भएर २०७३ सालदेखि उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन हुदै आइरहेको छ । स्थानीयको विश्वास जित्दै निरन्तर संचालनमा रहेको यस संस्था काभ्रे जिल्लाको नै राम्रो सहकारी माध्यको एक हो । यो सहकारी संस्था बैंक, वित्तीय तथा सहकारी क्षेत्रमा अनुभवी व्यक्तिद्वारा प्रवद्र्धित संस्था हो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रबन्धक तथा संचालक शान्तमणी रिजालसँग गरेको समसामयिक कुराकानी ः   

० सर्वप्रथम उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको परिचय दिनुस् न ?
उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रे जिल्लाको एक पुरानो सहकारी संस्था हो । हाल यस सहकारी संस्थाले आफ्नै भवन बाट ग्राहक वर्गहरु लाई सेवा सुबिधा दिदै आएको छ । मेलम्ची बस स्टप देखि भित्र प्रगति प्रभात एकेडेमीको अगाडि रहेको भवन नै उग्रतिर्थको भवन हो । २०६६ सालमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएर २०७३ साल देखि बिधिवत रुपामा संचालनमा आएको संस्था हो । हाल सम्म आइपुग्दा सात हजार भन्दा माथी शेयर सदस्यहरु रहेका छन् । यस सहकारी संस्थामा झण्डै ६ करोडौं पुजी रहेको छ ।

० तपाई त सहकारीको सचिब र व्यवस्थापक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
नियमित रुपमा सहकारी संस्थाले दिने सेवा सुबिधा त दिदै आएका नै छौं । हाम्रो सहकारीले आफ्ना शेयर सदस्यहरु लाई हामीले सेकेको सेवा सुबिधा दिदै आइरहेका छौ । मासिक बचत गर्नेहरु लाई हामी औसधि उपचारको बिमा ५० हजार, ३० हजार र २० हजारको गर्ने गरेका छौँ । सुत्केरी षोषण भत्ता ३ हजारौं दिने गरेका छौं । मृत्यु काज क्रिया खर्च ५ हजारौं दिने गरेका छौ । त्यसैगरी शिशु स्याहार पोषण भत्ता दिने गरेका छौँ । हाम्रो सहकारी बाट ऋण लिनेहरु लाई पछि केही समस्य नपरोस् भनेर ऋणी बिमा पनि गर्ने गरेका छौँ । उग्रतिर्थ सहकारीले धेरै सेवा सुबिधा दिदै आएको छ जुन सेवा सुबिधा काभ्रेका अन्य सहकारीहरुले दिने गरेका छैन्न ।


० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ?
सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ । सहकारी भनेको नै आर्थिक, सामाजिक, न्यायिक एवं शैक्षिक उद्देश्यहरू राखेर स्थापना गरिन्छ । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हितका लागि सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्दै पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्ने र समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूलाई सामाजिक न्याय दिलाउनु नै सहकारी हो ।

० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
यो आरोप मात्रै हो । तपाईं नै भन्नुहोस् न सहकारी नै थिएन भने ती निम्न आए स्तर भएकाहरुले कसरी व्यापार व्यवसाय गर्थे । उनीहरुको पहुँच बैक सम्म पुग्ने नै थिएन । सहकारीको माध्यम बाट नै हो ती साना साना व्यापारीहरुको बचत गरेर ऋण लगानी गरेको हुन्छ । अनि अर्को कुरा सहकारी संस्थाहरु सञ्चालक समिति अनि कर्मचारीको मात्र होइन । यो सम्पूर्ण शेयर संस्थाका सदस्यहरुको पनि हो । सहकारीले सदस्यलाई ऋण दिने क्रममा संस्थाको विनिमय, ऋण नीति अनुसार ऋण लगानी नगरेको अवस्थामा शेयर सदस्य अनि संस्था दुवैमा असर पर्न जान्छ । ऋण दिने क्रममा शेयर सदस्यले कत्रो भारी बोक्ने चाहाना गरेको छ र बोक्न कत्रो सक्छ, त्यत्रो मात्र भारी बोकाउनु पर्दछ । अनि सहकारी संस्था माथि यस्तो आरोप पनि आउँदैन ।

० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
एक दुई वटा सहकारीमा यस्तो समस्य आयो भन्दैमा सबै सहकारी लाई नराम्रो भन्न मिल्दैन । यसमा बचत कर्ताको भुमिका पनि ठूलो रहने गरेको छ । बचत कर्ताले पैसाको लोभमा धेरै ब्याज आउने सहकारी खोज्दै त्यस्तो सहकारीमा पैसा राख्नु हुन्छ । यसमा बचत कर्ता आफै सक्षम हुन जरुरी छ । सहकारीको नीति नियम अनुसार चलेका सहकारी हो कि होइन भनेर बचत कर्ताले नै मुल्यांकन गर्नु पर्ने हुन्छ । सदस्यहरुले यी विषयवस्तु माथि निरन्तर रूपमा खोज गर्नु भयो भने तपाईंको समुदायमा संचालित तपाईंको सहकारी सस्था, तपाईंको पैसा कुम्ल्याएर पक्कै पनि भाग्दैन । तर आफ्नो सहकारी संस्थाले के के गरिरहेको छ ? वार्षिक कार्यक्रमको तर्जुमा र कार्यान्वयनको स्थिति के छ ? त्यो सदस्यहरुले बुझेर मात्रै बचत गर्दा राम्रो हुने छ ।

 

० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवा पुस्तामा सहकारी शिक्षाको अभाव छ । विद्यालय र विश्वविद्यालयमा सहकारी विषय समावेश गरी यस क्षेत्रमा युवा पुस्ताको रुचि बढाउन सकिन्छ । सहकारीहरुले प्रविधिमैत्री सदस्य सेवा प्रवाहमा पनि बिशेष जोड दिनुपर्छ किनकि युवा पुस्ताहरु नवीनतम् प्रविधिमार्फत उच्चतम सेवाको खोजीमा हुन्छन् । अर्को कुरा सहकारीका माध्यमबाट भएका राम्रा कुराहरुको व्यापक प्रचारप्रसारको कमी छ । समाजमा सहकारी मार्फत भए गरेका कामहरु मिडिया बाट देखाउन सकेमा युवा पुस्ता आकर्षित हुने निश्चित छ ।

 

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
सहकारीमा समस्या भनेको नै सहकारी शिक्षा कमि भएर हो । सहकारी केहो भन्ने चेतना नै छैन भन्दा हुन्छ। सहकारीमा काम गर्ने बिषयगत शिप र ज्ञानको अभाव छ । अनि अर्को कुरा आर्थिक समस्यासँग जुधिरहेका धेरै सहकारीहरूमा मानिसहरूको लाइन लाग्नु त स्वाभाविक नै हो तर कुनै समस्या नभएका सहकारीमा समेत अहिले बचतकर्ताहरू हल्लाको भरमा पैसा निकाल्न गइरहेका छन् ।
सदस्यहरुले पनि यो हाम्रो नै संस्था हो भनेर संस्थाको हित सोचेर, यस्तो बेलामा सहयोग गर्नु नै सच्चा सदस्यको पहिचान देखाउनु नै आजको आवश्यकता हो जस्तो लाग्छ मलाई, एउटा गाडी दुर्घटना भयो भन्दैमा सबै गाडीहरु लाई नराम्रो भन्न मिल्दैन । सबै बचत कर्ता एकै चोटि पैसा निकाल्न जादा राम्रो भनिएका सहकारी लाई पनि समस्य आइपर्ने गरेको छ । त्यसैले बचत कर्ताहरुले आफू लाई आवश्यक परेको रकम निकालेर हल्लाको पछि नलाग्न पनि अनुरोध गर्दछु । सहकारीको नीति विधि ऐनमा चलेका सहकारीहरु लाई समेत पछिल्लो समय हल्लाले केही असर गरेको छ ।

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
धेरै नाफा कमायो भन्दैमा त्यसलाई राम्रो भन्न मिल्दैन । सहकारी भनेको नाफा कमाउने होइन सेवा प्रदान गर्ने खोलिएको संस्था हो । बरु समाजमा त्यस सहकारीले समाज प्रती कस्तो गतिविधि गर्दै आएको छ । समाजको हक हित परिवर्तनका लागि के कस्ता कार्य गर्दै आएका छन् त्यो हेर्नु आवश्यक हुन्छ । अनि अर्को कुरा जुन सदस्यको हरेक समस्याको समाधान गर्न सक्दछ र सेवा सुविधा उपलब्ध गराउन सक्छ त्यस्तो सहकारी चाहीँ राम्रो हो । सहकारीले सदस्यको हरेक समस्या समाधान गर्न सक्नुपर्छ ।

० भावी योजनाहरु के छन् ?
सहकारीको क्षेत्रमा थप अध्ययन, अनुसन्धान गर्दै प्राप्त ज्ञानलाई सहकारीका क्षेत्रमा उपयोग गर्ने सोच र चाहना रहेको छ ।सहकारीको माध्यम बाट समाज लाई परिवर्तन गर्दै लैजाने,सहकारीको क्षेत्रमा केहि राम्रो र नमुनाको काम गर्न योजना रहेको छ ।

० अन्तमा यस मिडिया मार्फत के भन्न चाहानुहुन्छ ?
सहकारी सम्बन्धि केही कुरा राख्ने मौका दिनु भएकोमा तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..