पनौतीमा दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव भोलिदेखि सुरु हुँदै

 

काभ्रे प्रेस | पनौती
पनौती नगरपालिका–७ स्थित बसपार्क क्षेत्रमा आयोजना हुन लागेको “दोस्रो पनौती सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३” भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित महोत्सव वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुनेछ।

बिज्ञापन

महोत्सवले पनौतीको स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। महोत्सव अवधिभर राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता तथा फेसन शो आयोजना गरिनेछ।

त्यसैगरी औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल, विद्युतिय मेसिन तथा कृषि औजारहरूको प्रदर्शनी पनि राखिने भएको छ। मोबाइल तथा इलेक्ट्रोनिक सामग्री, लत्ता–कपडा, भाडाकुँडा लगायतका व्यापारिक स्टलहरू महोत्सवको अर्को आकर्षण रहनेछन्।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका विभिन्न परिकारको स्वाद लिन पाइने आयोजकले जनाएको छ। बालबालिकाका लागि एसियाकै उत्कृष्ट भनिएको बाल उद्यान, मनोरञ्जनात्मक खेल, रोटेपिङ, ब्रेक डान्स तथा रेल सेवाजस्ता मनोरञ्जनका सामग्री पनि समावेश गरिएका छन्।

आयोजक संस्थाका अध्यक्ष नमराज ढुंगानाले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पनौतीको पहिचानलाई थप सशक्त बनाउने लक्ष्य रहेको उनले बताए।