

काभ्रे, पनौती । पनौती नगरपालिका–५ श्रीखण्डपुरस्थित विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानको आयोजनामा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। धार्मिक आस्था, आध्यात्मिक चेतना तथा समाजमा सकारात्मक संस्कार विस्तार गर्ने उद्देश्यसहित चैत ६ गतेदेखि १३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निरञ्जनानन्द गिरिजी महाराजको पावन सान्निध्य तथा संकल्पमा आयोजना हुने महायज्ञमा आचार्य श्री शिवप्रसाद उपाध्यायद्वारा संस्कृत पाठपारायण तथा आचार्य श्री रामप्रसाद उपाध्यायद्वारा संगीतिमय शैलीमा श्रीमद् देवीभागवत कथा वाचन गरिने कार्यक्रम रहेको छ।


कार्यक्रमअन्तर्गत चैत ६ गते बिहान ९ बजे कलशयात्रा निकालिनेछ भने सोही दिन दिउँसो २ बजे महायज्ञको औपचारिक उद्घाटन गरिनेछ।
चैत ७ गतेदेखि १३ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म कथा वाचन, प्रवचन तथा धार्मिक अनुष्ठान सञ्चालन हुनेछन्।
प्रत्येक दिन साँझ ४ः३० बजे आरती, पुष्पाञ्जली तथा भजन–कीर्तन गरिनेछ भने चैत १३ गते पूर्णाहुति कार्यक्रम सम्पन्न हुनेछ।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक रामप्रसाद तिमिल्सिनाले धार्मिक कार्यक्रमले समाजलाई नैतिकता, अनुशासन र संस्कारसँग जोड्ने विश्वास व्यक्त गरे। उनले भने, “आजको समाजमा आध्यात्मिक चेतनाको आवश्यकता अझ बढ्दो छ। यस्ता महायज्ञले मानिसलाई आत्मिक शान्ति दिनुका साथै समाजमा सद्भाव, सहिष्णुता र नैतिक मूल्य स्थापित गर्न सहयोग गर्छ। विशेषगरी नयाँ पुस्तालाई धर्म, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन्।”
प्राचार्य बिक्रम गौतमले धार्मिक कार्यक्रमलाई शिक्षासँग जोडेर हेर्नुपर्ने बताए। उनले भने, “विद्यालयले विद्यार्थीलाई ज्ञान दिन्छ, तर समाजमा जिम्मेवार र संस्कारित नागरिक बन्न धार्मिक तथा सांस्कृतिक चेतना पनि उत्तिकै आवश्यक हुन्छ। यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई सकारात्मक सोचतर्फ प्रेरित गर्छ।”
यस्तै व्यवस्थापन समिति सचिव राजकुमार तिमिल्सिनाले स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल बनाउने बताए। उनका अनुसार महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता र सहकार्यको सशक्त माध्यम पनि हो। उनले भने, “स्थानीयवासीको साथ र सहयोगले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँछ। सबै मिलेर सफल बनाउनुपर्ने साझा जिम्मेवारी हाम्रो हो।”
आयोजकका अनुसार महायज्ञ अवधिभर धार्मिक प्रवचन, भजन–कीर्तन, पूजा–आराधना तथा भक्तजनका लागि विशेष दर्शन व्यवस्था गरिनेछ। विन्ध्यवासिनी मन्दिर परिसरमा सञ्चालन हुने कार्यक्रममा काभ्रे तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले धार्मिक वातावरणमा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थितिका लागि आग्रह गरेको छ।



