
बनेपा स्थित स्मार्ट प्यालेसमा आयोजित भव्य समारोहबीच ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रम प्याबसन केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष, प्याबसन तथा एन–प्याबसनका पदाधिकारी, पत्रकार, अभिभावक, शिक्षक–शिक्षिका र अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रबन्ध निर्देशक प्रताप वैद्यले संस्थाले बालमैत्री वातावरणमा बाल मनोपरामर्शदाता सहित शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी शैक्षिक सत्र २०८३ मा विद्यार्थीहरूको शैक्षिक विकाससँगै नेतृत्व विकास, भावनात्मक व्यवहार, सम्बन्ध निर्माण तथा जीवनोपयोगी सीप अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।


उहाँका अनुसार संस्थाले किताबी ज्ञानसँगै व्यावहारिक शिक्षालाई पनि प्राथमिकता दिएको छ । विद्यार्थीहरूलाई कृषि शिक्षा, तरकारी खेती, कुकिङ, सिलाइ–बुनाइ, अचार, गुन्द्रुक, मस्यौरा निर्माण, मौसमी फलफूल संरक्षण तथा भण्डारण सम्बन्धी सीप सिकाइँदै आएको छ । यसले बालबालिकामा प्रारम्भिक चरणदेखि नै उद्यमशीलता, बचत, मितव्ययिता र समयको सदुपयोगबारे चेतना विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
समाज रूपान्तरण र राष्ट्र निर्माणमा सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ संस्थाले प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मको अध्ययन–अध्यापन एकै छानामुनि सञ्चालन गरिरहेको वैद्यले उल्लेख गर्नुभयो । उहाँले शैक्षिक वर्ष २०८२ मा सयौँ विद्यार्थीलाई ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी पनि दिनुभयो ।
कार्यक्रमका सभापति तथा सञ्चालक सदस्य आत्माराम थापाले विद्यालयको आधुनिक शिक्षण पद्धति, वैज्ञानिक दृष्टिकोण र बालमैत्री वातावरणका कारण विद्यालय अभिभावकमाझ लोकप्रिय बनेको बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
सोही अवसरमा सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले एक वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै अध्ययन, खेलकुद र संगीतमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा किन्डर गार्टेन तहका विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकामा अध्ययनप्रतिको रुचि बढाउनुका साथै व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेका छन्।


