
काभ्रेपलाञ्चोक — ६९ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारालाई केन्द्रमा राख्दै जिल्ला सहकारी संघ लि. काभ्रेको महिला विकास उपसमितिले सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

चैत्र १६ गते सोमबार संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा महिला विकास उपसमितिका संयोजक तथा सञ्चालक सदस्य अम्बिका तिमल्सिनाले सभापतित्व गर्नुभएको थियो। बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा प्रमुख अतिथि तथा सामाजिक विकास कार्यालयकी शाखा प्रमुख मन्जु कार्की विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।




कार्यक्रममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, सल्लाहकारहरू, उपसमितिका सदस्यहरू, कर्मचारीहरू र विभिन्न सहकारी संस्थाका ४४ जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ महिला विकास उपसमितिकी सदस्य रामशोभा खड्काको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि महिला उद्यमी दिक्षा पौडेलले प्रशिक्षण प्रदान गर्दै सहकारीमार्फत उद्यम सुरु गर्ने तरिका, वित्तीय व्यवस्थापन, बजार पहुँच, नवप्रवर्तन र व्यवसाय विस्तारका उपायहरूबारे व्यावहारिक जानकारी दिनुभयो।
मन्तव्यका क्रममा प्रमुख अतिथि सापकोटाले सहकारी क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको आधारको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। विशिष्ट अतिथि कार्कीले सहकारी संस्थाहरूले पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्दै महिलामैत्री कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीलाई उत्पादनमुखी र उद्यमशीलतामुखी बनाउन आवश्यक रहेको बताउँदै महिला सहभागिता वृद्धि गर्न संघले पहल गरिरहेको जानकारी दिनुभयो। सभापति तिमल्सिनाले महिला उद्यमशीलता प्रवर्द्धनका लागि उपसमितिले निरन्तर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तरक्रिया सत्रमा सहभागीहरूले सहकारीमार्फत उद्यम विकासका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए। वित्तीय स्रोतमा पहुँच, बजार व्यवस्थापन, सीप विकास तथा नवप्रवर्तनका विषयमा केन्द्रित छलफल भएको कार्यक्रमले महिला उद्यमशीलता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



