
काठमाडौं | नेपाल कलाकार संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा कलाकार सबिन श्रेष्ठको दाबेदारी बलियो रूपमा देखिएको छ। आगामी चैत्र २८ गते हुने २१औँ साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै श्रेष्ठले कलाकारहरूसँग भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएका छन्।

संघका वर्तमान महासचिव रहेका श्रेष्ठ यसअघि पनि अध्यक्ष पदका आकांक्षी थिए। तर, अन्तिम समयमा उनले वर्तमान अध्यक्ष मोहन निरौलालाई समर्थन गर्दै आफु महासचिव बन्न सहमत भएका थिए। यसपटक भने श्रेष्ठले अध्यक्ष पदमा नै दाबेदारी प्रस्तुत गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

अध्यक्ष पदका लागि रविन्द्र खड्का र उत्तम केसी पनि आकांक्षीका रूपमा देखिएका छन्। यद्यपि हालसम्म कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। निर्वाचन नजिकिँदै जाँदा कलाकारबीच भेटघाट, छलफल र आन्तरिक लबिङ भने तीव्र बनेको छ।




