

सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुनसरी क्षेत्र नं. ४ मा चुनावी तापक्रम तीव्र बनेको छ। यस क्षेत्रमा कुल ३३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् — जसले यो निर्वाचनलाई झन् रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

तर ती सबैबीच स्वतन्त्र उम्मेदवार केसीको सक्रियता र जनसम्पर्क अभियानले विशेष चर्चा पाएको छ। मुसा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी उनी अहिले बिहानदेखि साँझसम्म घरदैलोमा व्यस्त रहँदै जनताको दुःख, पीडा र अपेक्षा सुन्दै हिँडिरहेकी छन्।


मुख्य प्रतिस्पर्धीका रूपमा
ज्ञानेन्द्रबहादुर कार्की – नेपाली कांग्रेस
जगदीशप्रसाद कुसियैत – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महमद महफुज अन्सारी – नेपाल कम्युनिष्ट पार्टी
दीपककुमार साह – राष्ट्रिय स्वतन्त्र पार्टी
सविता यादव – जनता समाजवादी पार्टी
विष्णु राणा – श्रम संस्कृति पार्टी
जस्ता उम्मेदवारहरू मैदानमा छन्।
यो क्षेत्रको विगत निर्वाचन इतिहास पनि निकै चाखलाग्दो छ। विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्कीले ३२ हजार ३४७ मत ल्याएर विजय हासिल गरेका थिए। त्यस्तै २०७९ सालको निर्वाचनमा पनि उनले कुसियैतलाई मात्र ११२ मतको झिनो अन्तरले पराजित गर्दै जित निकालेका थिए। यही तथ्यांकले यहाँको चुनाव सधैं कडा प्रतिस्पर्धात्मक रहने गरेको संकेत गर्छ।
तर यसपटक समीकरण केही फरक देखिन्छ। स्वतन्त्र उम्मेदवार केसीले परम्परागत दल र नेताहरूको घेराबन्दीबीच आफूलाई “जनताको उम्मेदवार”का रूपमा प्रस्तुत गर्दै विश्वास जित्ने प्रयास गरिरहेकी छन्। गाउँ–टोलमा पुग्दा वृद्धवृद्धा, महिला र युवाहरूले उनलाई आशा र परिवर्तनको प्रतीकका रूपमा स्वागत गर्ने गरेको दृश्यले चुनावी माहोल भावनात्मक बनाइदिएको छ।
स्थानीय मतदाताहरूका अनुसार “ठूला दलका नेताहरू चुनावमा मात्र देखिन्छन्, तर केसी त हरेक समस्या सुन्न घरमै आइपुग्छिन्।” यही जनसमर्थन र सहानुभूतिको लहरले उनको उम्मेदवारीलाई थप बलियो बनाइरहेको छ।
यद्यपि प्रतिस्पर्धा सजिलो छैन। रास्वपाका साहलाई पनि बलियो दावेदार मानिएको छ भने पुराना स्थापित नेताहरूको संगठनात्मक पकड अझै प्रभावशाली छ। त्यसैले सुनसरी–४ को यो चुनाव केवल मतको लडाइँ मात्र नभई विश्वास, भरोसा र जनभावनाको परीक्षण बन्ने देखिएको छ।
चुनाव नजिकिँदै जाँदा एउटा कुरा भने स्पष्ट छ—यो पटकको प्रतिस्पर्धामा जनताको ढोकासम्म पुग्ने उम्मेदवारले नै अन्तिम सफलता हात पार्नेछ, र त्यही दौडमा सबैभन्दा बढी सक्रिय देखिएकी छन् केसी।निर्वाचन क्षेत्र नं ४ मा एक लाख ३९ हजार ३३० मतदाता रहेका छन् । यहाँ ७३ हजार २९ पुरुष र ६६ हजार ३०१ महिला मतदाता छन् । यहाँ ४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको निर्वाचन कार्यलयले जनाएको छ।


