सहकारीको वर्तमान परिवेश, नियमन र भावी दिशाबारे जिल्लास्तरीय विस्तृत अभिमुखीकरण कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक जिल्लामा बचत तथा ऋणको कारोबार गर्दै आएका सहकारी संघ–संस्थाहरूलाई लक्षित गरी “सहकारीको वर्तमान परिवेश, प्राधिकरणको निर्देशन, दर्ता तथा आगामी दिशानिर्देश” विषयक जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजनामा तथा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा सोमबार सम्पन्न भएको हो। कार्यक्रम बिहान १०ः३० बजे सुरु भई दिउँसोसम्म सञ्चालन भएको थियो।

बिज्ञापन

कार्यक्रमका सभापति जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष  अमन पोटे श्रेष्ठ रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य तथा सहकारी विज्ञ डा. रमेश चौलागाईको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि. काभ्रेका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात जिल्ला सहकारी संघ लि. काभ्रेका महिला उपाध्यक्ष मिरा सत्यालद्वारा स्वागत मन्तव्यबाट गरिएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले सहकारी क्षेत्र पछिल्लो समय विश्वास, पारदर्शिता र नियमनका दृष्टिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै सहकारी संस्थाहरूलाई प्राधिकरणका निर्देशनबमोजिम सञ्चालन गर्न यस्ता अभिमुखीकरण कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। साथै सहकारीको दिगोपनाका लागि व्यवस्थापन क्षमता अभिवृद्धि अपरिहार्य रहेकोमा जोड दिनुभयो।

शुभकामना मन्तव्य राख्ने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थले सहकारी आन्दोलनलाई अनुशासित, जिम्मेवार र उत्तरदायी बनाउन नियामक निकायका निर्देशनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले सहकारी क्षेत्रको पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे चर्चा गर्नुभयो। त्यसैगरी कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहालले सहकारी व्यवस्थापनमा कार्यरत जनशक्तिको क्षमता विकास र नियमनको व्यावहारिक बुझाइ आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि तथा प्रशिक्षक डा. रमेश चौलागाईले प्रशिक्षण सत्रमा सहकारीको वर्तमान राष्ट्रिय परिवेश, सहकारी क्षेत्रमा देखिएका समस्याहरू, जोखिमका क्षेत्रहरू तथा समाधानका उपायबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो।

उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन, उद्देश्य, अधिकारक्षेत्र तथा सहकारी संघ–संस्थामाथि लागू हुने निर्देशनहरूबारे स्पष्ट जानकारी दिनुभयो। सहकारी दर्ता, पुनःदर्ता, विवरण अद्यावधिक, लेखापरीक्षण, सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, सदस्यको हित संरक्षण तथा वित्तीय अनुशासनका विषयहरूमा विशेष जोड दिँदै उहाँले सहकारी संस्थाहरूले कानुन र निर्देशनको अक्षरशः पालना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै आगामी दिनमा प्राधिकरणबाट जारी हुन सक्ने नीतिगत तथा प्रक्रियागत दिशानिर्देशहरूबारे पनि जानकारी गराउनुभयो।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाभित्रका ८० वटा प्रारम्भिक सहकारी संघ–संस्थाबाट अध्यक्ष, व्यवस्थापक तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका, निर्देशन कार्यान्वयन प्रक्रिया, दर्ता तथा अनुगमनसम्बन्धी विषयमा विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए। उठाइएका जिज्ञासाहरूमा प्रशिक्षक डा. रमेश चौलागाईले तथ्यगत, स्पष्ट र व्यावहारिक उत्तर दिँदै सहकारी संस्थाहरूलाई भ्रममुक्त भई नियमनको दायराभित्र रही काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रमको समापन सत्रमा सभापति अमन पोटे श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रमुख अतिथि, प्रशिक्षक, सहभागी, आयोजक टिम तथा प्राविधिक सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई मर्यादित, पारदर्शी र दिगो बनाउने दिशामा यस्ता अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।