



भक्तपुर — समाजसेवामा अतुलनीय योगदान पुर्याउँदै आउनु भएकी प्रिया तितुङ (तामाङ) “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२” अन्तर्गत सामाजिक व्यक्तित्व सम्मानबाट सम्मानित भएकी छिन्। समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंक सभा हलमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाले उहाँलाई सम्मान प्रदान गर्नुभयो।



विदेशमा श्रमिक जीवन बिताइरहे पनि मातृभूमिप्रतिको माया र निःस्वार्थ सेवाभावका कारण प्रिया तितुङज्यूले विपद् पीडित, असहाय, वृद्धवृद्धा तथा विद्यार्थीहरूका लागि निरन्तर सेवा गर्दै आउनुभएको छ। खाडी मुलुकमा कार्यरत रहँदासमेत आफ्नो आम्दानीको केही हिस्सा बचत गरी समाजमा मानवीयता र सहानुभूतिको भावना फैलाउन उहाँ सक्रिय रहनुभएको छ।

“सेवा नै धर्म हो” भन्ने जीवनदर्शन बोकेर समाजप्रति समर्पित तितुङको कार्यलाई कार्यक्रमले उच्च मूल्यांकन गर्दै राष्ट्रस्तरमै सम्मानित गरिएको हो। उहाँको योगदानले नेपाली समाजमा प्रेरणा र सकारात्मक सोच फैलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
प्रिया तितुङ (तामाङ) जस्ता साधारण पृष्ठभूमिबाट आएका असाधारण व्यक्तित्वहरूकै कारण समाज अझ मानविक, समावेशी र सहानुभूतिपूर्ण बन्दै गएको छ।