बेकरी तालिमले बढायो आत्मविश्वास, धुलिखेल–४ का विद्यार्थीहरू रोजगारीतर्फ अग्रसर

धुलिखेल नगरपालिका वडा नं. ४ मा सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले बेकरी तालिम सञ्चालन गरिएको छ।

सामाजिक विकास मन्त्रालयद्वारा लालीगुराँस टोल सुधार समितिलाई प्रदान गरिएको आर्थिक सहयोग तथा वडा नं. ४ को समन्वयमा तालिम सञ्चालन गरिएको हो।

बिज्ञापन

वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने बताउँदै यस्ता कार्यक्रमलाई वडाले निरन्तर प्राथमिकता दिने उल्लेख गर्नुभयो। 
इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका निर्देशक कामदेव शाह ठकुरीले तालिमप्रति विद्यार्थीहरूको उत्साह उल्लेखनीय रहेको बताउनुभयो।

उहाँका अनुसार सहभागी विद्यार्थीहरूले सिकाइप्रति उच्च चासो देखाउँदै व्यवहारिक रूपमा बेकरी आइटमहरू तयार गर्दै दक्षता हासिल गरिरहेका छन्। “विद्यार्थीहरूको लगनशीलता र सक्रिय सहभागिताले तालिम प्रभावकारी बनेको छ,” उहाँले भन्नुभयो।

तालिममा सहभागी विद्यार्थीहरूले बेकरी तालिम अत्यन्तै उपयोगी र व्यवहारिक भएको बताएका छन्। उनीहरूका अनुसार यसअघि सैद्धान्तिक रूपमा मात्र सुन्दै आएको सीपलाई प्रत्यक्ष अभ्यासमार्फत सिक्न पाउँदा आत्मविश्वास बढेको छ। “तालिमले स्वरोजगारका लागि बाटो देखाएको छ, अब आफ्नै व्यवसाय सुरु गर्न सकिने विश्वास जागेको छ,” उनीहरूको भनाइ छ।

उनीहरूले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनु आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन्।

तालिमले सहभागीहरूलाई स्वरोजगार तथा निजी क्षेत्रको रोजगारीतर्फ अघि बढ्न थप हौसला दिएको आयोजकको विश्वास छ।