
योगेन्द्र योगी
सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसी निर्वाचन नजिकिँदै जाँदा जनताको मन जित्ने अभियानमा निरन्तर सक्रिय देखिएकी छन्।

ठूला मञ्च र औपचारिक भाषणभन्दा फरक शैली अपनाउँदै उनी माटोमा पसिना बगाइरहेका किसानका खेत–बारी, घरआँगन र बस्ती–बस्तीमै पुगेर मत मागिरहेकी छन्।

काममै व्यस्त मतदाताको दैनिकी बुझ्दै उनीहरूकै छेउमा उभिएर केसीले “तपाईंको दुःख नै मेरो राजनीति हो” भन्ने भावनासहित संवाद गरिरहेकी छन्। खेतमा हिलोले लतपतिएका किसान, घरधन्दामा व्यस्त महिला तथा जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिकसँगको भेटघाट उनको लागि केवल भोट माग्ने औपचारिकता मात्र नभई पीडासँग जोडिएको आत्मीय सम्बन्ध जस्तै देखिन्छ।


रोल्पाको विकट भूभागबाट संघर्ष गर्दै दुई दशकभन्दा बढी समय सामाजिक सेवामा समर्पित केसीका लागि राजनीति शक्ति र पदको खोजी होइन, सेवाको निरन्तरता हो। सामाजिक सेवामा अर्जित अनुभव र जनताप्रतिको उत्तरदायित्व बोकेर उनी आज संसदमार्फत जनताको आवाज बुलन्द बनाउने संकल्पसहित चुनावी मैदानमा उत्रिएकी छन्।
उनको चुनाव चिह्न ‘मुसा’ रहेको छ। जनताको घरआँगनमै पुगेर गरिएको यो भावनात्मक घरदैलो अभियानले “अब राजनीति अनुहार होइन, अनुभूति खोज्छ” भन्ने सन्देश सुनसरी–४ का गाउँ–बस्तीमा फैलिँदै गएको छ।


