
बनेपा – भीरबाट लडेर गम्भीर घाइते लक्ष्मी तामाङको धुलिखेल अस्पतालमा निःशुल्क उपचार गरिएको छ । लडेर गम्भीर घाइते हुनुभएकी लक्ष्मी तामाङको आर्शु स्मृति प्रतिष्ठानको पहलमा धुलिखेल अस्पतालमा निःशुल्क उपचार सम्पन्न भएको छ। माघ १० गते घाँस काट्न जाने क्रममा भीरबाट लड्दा उहाँको खुट्टा गम्भीर रूपमा भाँचिएको थियो।

शारीरिक रूपमा अशक्त तामाङ बोल्न र सुन्न नसक्ने अवस्था छ। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र उहाँको एक मात्र सहारा दाजु समेत अपांगता भएका कारण उपचार सम्भव नभएपछि आर्शु स्मृति प्रतिष्ठानले सहयोगी हात अघि बढाएको हो।

भुम्लु गाउँपालिका वडा नं. ९ को सिफारिसमा प्रतिष्ठान र धुलिखेल अस्पतालबीच भएको लिखित सहमतिअनुसार तामाङको निःशुल्क उपचार गरिएको हो। अस्पतालमा गरिएको पहिलो शल्यक्रिया सफल भएसँगै उहाँ आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।


आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकलाई निरन्तर सहयोग गर्दै आएको आर्शु स्मृति प्रतिष्ठानको यो मानवीय पहलले पीडित परिवारमा आशा र राहतको सन्देश दिएको छ।


