

काभ्रे–पनौती–४ टौखाल काभ्रेमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमसहित आफ्नो ३२ औं स्थापना तथा एकीकरण दिवस मनाएको छ ।

बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरेको प्रमुख आतिथ्यतामा भएको स्थापना तथा एकीकरण दिवस समारोहमा सहकारीले पूर्व सञ्चालक, २० वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारी, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरेको छ । स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत संघको अध्यक्षमा निवाचित भएकोमा सल्लाहकार उदयराम कायस्थलाई सम्मान गरियो भने निवर्तमान अध्यक्ष प्रकाश बञ्जारा, पूर्व सञ्चालक सदस्य सुकुमान तामाङ, मुकुन्दप्रसाद अर्याल र पूर्व लेखा समिति सदस्य प्रयाग खत्रीलाई पूर्वसचालक सम्मानले सम्मानित गरिएको थियो । यस्तै २० वर्ष भन्दा बढी समयदेखि संस्थामा निरन्तर काम गर्दै आएका सातजना कर्मचारीलाई दीर्घ सेवा पदक सम्मानले सम्मानित गरिएको छ । यसरी सम्मानित हुनेहरुमा ३० वर्षदेखि सेवारत ऋण अधिकृत भक्तबहादुर श्रेष्ठ, २१ वर्षदेखि सेवारत धुलिखेल सेवा केन्द्र प्रमुख अनिता श्रेष्ठ, २० वर्षदेखि सेवारत युवाज्योती सेवा केन्द्रका ऋण अधिकृत फणिन्द्रप्रसाद आचार्य, २३ वर्षदेखि सेवारत पनौती सेवाकेन्द्रमा कार्यरत खजाञ्ची विन्दा बञ्जारा, २२ वर्षदेखि सेवारत सहायक लेखापाल रोजिना रन्जित, २४ वर्षदेखि सेवारत बचत सहायक कृष्णबशादुर सैंजू र २४ वर्षदेखि सेवारत पनौती सेवाकेन्द्रका हेल्पडेस्क सहायक सुशीला भुजेल रहेका छन् । उनीहरुलाई दोसल्ला, टिका, कदर पत्र, दिर्घ सेवा पदक र ७ दिनको तलब नगद सहित सम्मान गरिएको थियो ।


यस्तै मुख्य कार्यालय, पनौती सेवाकेन्द्र, कुशादेवी सेवाकेन्द्र, बल्थली सेवाकेन्द्र र महेन्द्रज्योति सेवाकेन्द्रका उत्कृष्ट सदस्यहरुलाई खादा, प्रमाण पत्र र नगद रु ४ हजार सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ताहरु मुख्य कार्यालयतर्फ दामोदर केसी, पनौती सेवोकेन्द्रतर्फ जयवहादुर शाही, महेन्द्रज्योती सेवोकन्द्रतर्फ पदमबहादुर केसी, कुशादेवी सेवाकेन्द्रतर्फ राजकुमार सापकोटा र बल्थली सेवाकेन्द्रतर्फ हरिप्रसाद आचार्य रहेका छन् । यस्तै उत्कृष्ट ऋणी सदस्यमा मुख्य कार्यालयतर्फ सुन्दर श्रेष्ठ, पनौती सेवाकेन्द्र तर्फ सुपन कार्की, महेन्द्रज्योती सेवा केन्द्रतर्फ शान्ति कार्की र कुशादेवी सेवा केन्द्रतर्फ बलराम तामाङ सम्मानित भए । अन्य सेवा केन्द्रका उत्कृष्ट सदस्यलाई सेवा केन्द्रमै पुगेर सम्मान गरिने संस्थाले जनाएको छ । कार्यक्रममा नगद ४ हजारसहित चारजनालाई उत्कृष्ट एसईई सम्मानले सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जिया खत्री, श्रेयाना श्रेष्ठ, प्रिन्सा सापकोटा र राधिका कुमारी रहेका छन् । यस्तै ५ जनालाई नगद ५ हजारसहित सामूदायिक छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा उत्सव अधिकारी, सुहाना श्रेष्ठ, रिजन थापा र अदिती केसी रहेका छन् ।
सामूदायिक साकोसका सेवा केन्द्रहरुमध्ये यो वर्ष उत्कृष्ट सेवा केन्द्रको रुपमा नगद ५ हजारसहित ढुंखर्क सेवा केन्द्रलाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा मुख्य कार्यालयमा स्टोर किपरको रुपमा कार्यरत भीमकला सापकोटालाई १५ दिनको तलब बराबरको रकमसहित सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले सामूदायिक साकोस स्थापनादेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए । २०५१ साल माघ १४ गते साविकको टौखाल गाविसका ४१ जना युवाहरुको सक्रियतामा स्थापना भएको यो सहकारीको बिउ पुँजी ३२ हजार ५ सय रहेको थियो । साविक टौखाल गाविसको वडा नं. १ र २ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको सामूदायिक बचत तथा ऋण सहकारी संस्थाले अहिले ६ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ । गत पुस मसान्तसम्म संस्थाको सदस्य संख्या ६१ हजार ४ सय ४०, कारोबार रकम ६ अर्ब ८ करोड, १३ लाख २८ हजार २ सय १० पुगेको छ । संस्थाको जगेडा कोषमा ४६ करोड ६६ लाख १२ हजार ३ सय १४ रुपैयाँको रहेको बस्नेतले जानकारी दिए । संस्थाले मुख्य कार्यालय र १८ वटा सेवा केन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा दिँदै आएको छ ।
सहकारीले बचतकर्ताहरुका लागि १५ प्रकारका बचतका सेवा प्रदान गरेको छ भने १९ प्रकारका ऋण प्रदान गर्दै आएको छ । यस्तै रेमिटेन्स सेवा, मोबाइल बैंकिङ सेवा, क्युआर भुक्तानी सेवा, बिल भुक्तानी सेवा लगायतका सेवा सञ्चालनमा ल्याएको छ । यस्तै सदस्यहरुको राहतका लागि स्वास्थ्य उपचार ऋण सुविधा, ५० हजारसम्मको समवेदना राहत सुविधा, विपद व्यवस्थापन राहत सुविधा, घातक रोग उपचार राहत सुविधा, सदस्य स्वास्थ्य उपचार राहत सुविधा पनि दिइरहेको छ । शीर मेमोरियल अस्पताल बनेपासहितका स्वास्थ्य संस्थामा सदस्यको उपचारका लागि सहुलियत पाउनेगरी सहकारीले सम्झौता गरेको छ । यस्तै संस्थाका सदस्यलाई निःशुल्क रगत पाउने गरी नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखासँग सम्झौता पनि गरेको छ । गत वर्षदेखि सुरु भएको सम्झौता ३२ औं स्थापना दिवसको अवसर पारेर आजै नविकरण गरिएको छ ।
कार्यक्रममा सामूदायिक साकोसको इ बुलेटिन पनि बिमोचन गरिएको थियो । कार्यक्रममा बागमति प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष देवेन्द्र भैल, पनौती ४ का वडा अध्यक्ष दिपक दाहाल लगायतको उपस्थिति रहेको थियो ।


