
काभ्रे जिल्ला डजबल संघको प्रथम अधिवेशन तथा साधारण सभा मंगलबार बनेपामा सम्पन्न भएको छ। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा वागमती प्रदेश डजबल संघका अध्यक्ष महेन्द्र बिष्टले उपस्थित अतिथिहरू तथा सहभागीहरूलाई स्वागत गर्दै विद्यालय तहबाटै फुटबल र भलिबलजस्तै डजबल खेलको महत्वबारे विद्यार्थीहरूलाई सचेत गराउन जरुरी रहेको बताउनुभयो। उहाँले पछिल्ला केही महिनाभित्र नै जिल्लाका दर्जनभन्दा बढी विद्यालयमा डजबलसम्बन्धी जानकारी दिइसकिएको उल्लेख गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वाण्डो संघका उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गएको डजबल खेललाई प्रत्येक विद्यालयमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।


प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले सुरुमा डजबल खेलबारे आफूलाई जानकारी नभएको स्मरण गर्दै यस खेलको विकासका लागि आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस्तै, जिल्ला बचत संघ काभ्रेका सचिव राजन अधिकारीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। विशेष अतिथि जिल्ला खेलकूद संघ काभ्रेका अध्यक्ष मानवीर वाइवाले खेलकूदको महत्व उल्लेख गर्दै नेपालमा विकासको चरणमा रहेको डजबल खेलको महत्वबारे सबैमा जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो। उहाँले यस अभियानमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
अधिवेशनले रामचन्द्र देउजाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा पृतम गङ्गाई, उपाध्यक्षमा सुविन मानन्धर र उत्तम सापकोटा तथा सचिवमा ओमकृष्ण श्रेष्ठ चयन हुनुभएको छ।
त्यसैगरी, कोषाध्यक्षमा विजय मुस्याजु, सह–सचिवमा साजन घिमिरे, सह–कोषाध्यक्षमा खेम थापा तथा सदस्यहरूमा दिपेन्द्र बिष्ट, मदन ढुङ्गाना, मिलन आचार्य, स्वेजल श्रेष्ठ, नेत्र बडाल, जनक तामाङ र दिपा बिष्ट चयन हुनुभएको छ।
कार्यक्रम नवनिर्वाचित अध्यक्ष रामचन्द्र देउजाको सभापतित्वमा सम्पन्न भएको थियो।



