
काभ्रेपलान्चोक । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का उपनिर्देशक रोहित दाहाललाई बनेपा बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ।

सिटिइभिटीको प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दाहाललाई परिषद्को सदस्य–सचिवस्तरीय निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको हो। बनेपा बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासमा उनको नेतृत्वले सकारात्मक योगदान पुर्याउने विश्वास सिटिइभिटीले व्यक्त गरेको छ।

वि.सं. २०५४ सालमा सिटिइभिटी सेवामा प्रवेश गरेका विराटनगर निवासी दाहाल २०७५ सालमा उपनिर्देशक पदमा पदोन्नति भएका थिए। उनले ग्रामीण विकास तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरेका छन्।


सिटिइभिटीभित्र स्पष्ट, इमान्दार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित दाहाल प्रशासनिक अनुभवसँगै शैक्षिक तथा वैचारिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
उनी प्रगतिशील साहित्यकार तथा लेखकसमेत हुन्। उनका ‘उनको पैँतालाले थिचेको देवता’, ‘धरातलबाट उठेर हेर्दा’, ‘इस्पातले बनेका मान्छेहरू’, ‘विष्णुका अवतार–मार्क्सवादी विश्लेषण’ तथा ‘सांस्कृतिक रूपान्तरण : किन र कसरी’ लगायतका कृतिहरू प्रकाशित छन्।
बनेपा बहुप्राविधिक शिक्षालयको नेतृत्व सम्हाल्दै दाहालले प्राविधिक शिक्षालाई समयसापेक्ष, व्यवहारिक तथा रोजगारमुखी बनाउनेतर्फ विशेष जोड दिने अपेक्षा गरिएको छ।



