

पुजन धिताल | काभ्रे – जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं. ७ स्थित सञ्जिवनी चोकमा रहेको जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनभित्र अन्दाजी ४५ वर्ष उमेरको एक पुरुष मृत अवस्थामा फेला परेको हो।

जिल्ला प्रशासन कार्यालयकै उक्त भवन ठेकेदारले निर्माण कार्य छोडेपछि मुद्दा–मामिला परेका कारण लामो समयदेखि निर्माण अलपत्र अवस्थामा रहँदै आएको बताइएको छ। हाल कामकाज नभएको पुरानो प्रशासन भवन परिसरभित्र रहेको सो तीनतले निर्माणाधीन भवनको दोस्रो तल्लामा रहेको खुला कोठामा पुरुष मृत अवस्थामा फेला परेको हो।


घटनासम्बन्धी जानकारी दिउँसो १:०० बजे प्राप्त हुनासाथ थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठको कमाण्डमा SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार मृतकको नामथर तथा वतन हालसम्म खुल्न सकेको छैन। मृतकको शरीरका विभिन्न भाग जलेको अवस्थामा फेला परेको छ। घटनास्थल मुचुल्का सम्पन्न गरी मृतकको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता रबिन बिष्टले जानकारी दिनु भएको छ।


