जसपा नेपालले उमेदवार सिफारिस गर्न सर्कुलर जारी

# जसपा नेपालले उमेदवार सिफारिस गर्न सर्कुलर जारी
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २८, २०८२
जसपा नेपालले उमेदवार सिफारिस गर्न सर्कुलर जारी

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई सर्कुलर जारी गरेको छ।

पार्टीको संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र प्रदेश समितिमा उमेदवारको नाम पठाइसक्नुपर्ने छ। प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीमा निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना संभावित उमेदवारको नाम पठाइसक्नुपर्ने सर्कुलरमा भनिएको छ।

बिज्ञापन

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा उमेदवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो।

समानुपातिकतर्फ, प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरुष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुने गरी प्रदेश समितिमा पुस १ गतेभित्र नाम पठाउनुपर्ने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाइसक्नुपर्ने जनाइएको छ।

कुनै कारणवश तोकिएको समयमै उमेदवारको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा, संसदीय बोर्डले नै उमेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने सर्कुलरमा भनिएको छ।

बस्नेतले थपे, “पार्टी विधानको धारा-११७ उपधारा (३) बमोजिम, योग्यता पूरा गरेका कुनै पनि संगठित पार्टी सदस्यले प्रत्यक्षतर्फ वा समानुपातिकतर्फ उमेदवार बन्न चाहेमा सोझै केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा आवेदन दिन सक्नेछन्। यसरी आएका आवेदनहरुमा संघीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ।”

संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयका प्रतिलिपिहरू पनि संलग्न गरी पठाउनुपर्नेछ। अन्तिम निर्णय संघीय संसदीय बोर्डले गर्ने कुरा पनि पार्टीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up