
धुलिखेल–८ बडाल गाउँस्थित बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठानको दोस्रो साधारण सभा पुस २६ गते सम्पन्न भएको छ। सभा संस्थाका अध्यक्ष रामहरि बडालको सभापतित्व तथा वडा नं. ८ का वडा अध्यक्ष विनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारण सभामा संस्थाका सचिव गणेश बडालले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सुनिता सापकोटाले आय–व्यय सहितको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा जनचेतना युवा समूहका अध्यक्ष रमेशप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष उद्दवप्रसाद बडाल तथा पूर्व अध्यक्ष साधुराम बडालले मन्तव्य राख्दै मन्दिर निर्माणका लागि सबैको एकता, सहकार्य र निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँहरूले निकट भविष्यमा मन्दिर निर्माण कार्यले पूर्णता पाउने विश्वास समेत व्यक्त गर्नुभयो।


प्रमुख अतिथि वडा अध्यक्ष विनोद गौतमले धार्मिक आस्था र सहयोगको भावनाबाट जनचेतना सामाजिक संस्थाले अपनत्व लिँदै श्रीमद्भागवत वाचनमार्फत रकम संकलन गरिएको जानकारी दिनुभयो। साथै, धुलिखेल नगरपालिकाले गत आर्थिक वर्षमा १० लाख रुपैयाँको बजेटबाट मन्दिर निर्माण कार्य सुरु गरिएको र चालू आर्थिक वर्षका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गर्न आग्रह गरिएको जानकारी गराउनुभयो। नगर प्रमुख अशोक व्याञ्जुले ६०/४० अनुपातमा बजेट सहयोग गर्ने वचन दिनुभएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य तथा साधारण सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै, इम्यानुएल बोर्डिङ स्कुल धुलिखेलका सञ्चालक उदय भूषण जङ्गमले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन नवराज बडालले गर्नुभएको थियो।



