श्रमिक जनउत्थान सहकारीको १६औँ साधारण सभा सम्पन्न, शुसिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बनेपा । श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अधिकारीले पछिल्लो समय सहकारी क्षेत्रमाथि विभिन्न किसिमका चुनौती र आक्रमण भइरहे पनि श्रमिक जनउत्थान सहकारी सदैव श्रमिक तथा सदस्यहरूको हितमा प्रतिबद्ध भएर अघि बढिरहेको बताए। “सहकारीप्रति जनविश्वास जोगाइराख्नु हाम्रो पहिलो दायित्व हो,” उनले भने।

साधारण सभाका प्रमुख अतिथि तथा संस्थाका ज्येष्ठ सदस्य पुष्पराज कर्माचार्यले श्रमिक जनउत्थान सहकारीले स्थापना कालदेखि नै अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात् गर्दै आएको उल्लेख गरे। उनले नयाँ नेतृत्वलाई संस्थालाई अझ सशक्त, सदस्य–मुखी र विश्वासिलो बनाउँदै लैजान आग्रह गरे।

पुर्व अध्यक्ष तथा रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइवाले सहकारी भनेको केवल आर्थिक कारोबार मात्र नभई सदस्यबीचको आपसी विश्वास र जिम्मेवारीको साझा संस्था भएको उल्लेख गर्दै श्रमिक जनउत्थान सहकारीले यो विश्वास मजबुत बनाउँदै आएको बताए।

कार्यक्रममा अधिवक्ता टीका विक्रम हमाल, समाजसेवी तथा व्यवसायी सदिप रेग्मी, पत्रकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।

साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष शुसिला श्रेष्ठ, उपाध्यक्ष प्रेमबहादुर लिम्बु, सचिव वेली माया लामा, कोषाध्यक्ष दिव्य किरण तिमल्सिना चयन भएका छन्। सञ्चालक समिति सदस्यहरूमा अर्चना वैद्य, हरेराम काफ्ले, इन्द्रमाया तामाङ, अमृता रावल र विनोद रोक्का रहेका छन्।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा उद्धवप्रसाद तिमल्सिना तथा सदस्यहरूमा प्रकाश अधिकारी र गोमा थापा चयन भएका छन्। उत्कृष्ट कर्मचारी बिपिन दाहाल लाई सम्मान गरिएको थियो ।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सहभागी सदस्यहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारीलाई अझ पारदर्शी, प्रभावकारी र सदस्य–मुखी बनाउँदै लैजान सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव अम्बिका तिमल्सिनाले गरेकी थिइन्।