जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

# जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष २१, २०८२
जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

काठमाडौँ : सरकारले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त समाजलाई आर्थिक सहयोग दिने निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले दिनुभयो।

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच सम्पन्न हुने श्रम सम्झौतालाई स्वीकृत गरेको छ। साथै नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) लाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

बिज्ञापन

यसैगरी मन्त्रिपरिषद् बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ स्वीकृत गरेको छ। वन तेस्रो संशोधन नियमावली–२०८२ लाई पनि बैठकले पारित गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

कर्मचारी व्यवस्थापनतर्फ सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ। त्यस्तै नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ।

त्यसैगरी समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up