“भुम्लुमा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, ११ स्वर्णसहित रिठ्ठे प्रथम”

भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय तह स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुम्लुमा सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका १० विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए।

प्रतियोगितामा प्रथम स्थान श्री सेतीदेवी मावि भुम्लु-१ रिठ्ठेले ११ स्वर्ण, २ रजत, ४ कास्य पदकसहित हासिल गरेको छ। द्वितीय स्थान श्री सेतीदेवी मावि भुम्लु-४ याक्पाले ७ स्वर्ण र २ कास्य र तृतीय स्थान श्री अरुणोदय मावि भुम्लु-२ सिम्थलीले १ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित प्राप्त गरेका छन्।

बिज्ञापन

प्रतियोगितामा भलिबल, कबड्डी, हाइ जम्प, लङ जम्प, ज्याब्लिङ थ्रो, दौड, योगा लगायतका खेल समावेश गरिएको थियो।
प्रतियोगितामा सहभागिताकर्ता खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङले वितरण गरेका थिए।

अध्यक्ष भुजेलले पुरस्कार वितरण गर्दै भने, “भुम्लुमा खेलकुदको विकास हाम्रो प्राथमिकता हो। स्थानीय तहका स्तरबाट खेलकुदलाई प्रोत्साहन दिँदै यहाँबाट राष्ट्रिय स्तरका खेलाडीहरू जन्माउने लक्ष्य राखेका छौं। हामी सबै खेलकुद गतिविधिमा निरन्तर सहयोग र संसाधन उपलब्ध गराउने छौं।”

उपाध्यक्ष तामाङले पनि खेलकुदलाई निरन्तर अघि बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, “भोलिका दिनमा भुम्लुमा खेलकुद क्षेत्रमा उल्लेख्य विकास हुनेछ र यहाँका युवा खेलाडीहरू राष्ट्रिय स्तरसम्म पुग्ने क्षमता राख्छन्।”

सोही अवसरमा भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा, रेडक्रस उपशाखा भुम्लुको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा एक दिने बृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो। स्वास्थ्य शाखाले जानकारी दिँदै ६५ पिन्ट रक्त संकलन भएको जनाएको छ।