आज राष्ट्रिय च्याउ दिवस विविध कार्यक्रमगरी मनाइँदै

काठमाडौं,
पुस १५ ।

च्याउ उत्पादक किसान संघ नेपालले आज (मंगलबार) काठमाडौंको भृकुटीमण्डपमा ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना गर्दैछ । सातौँ संस्करणको च्याउ दिवस च्याउ किसानहरूको पहलमा मनाइँदै आएको भए पनि यस वर्ष राज्यतर्फबाट औपचारिकरूपमा मनाइने पहिलो राष्ट्रिय च्याउ दिवस हो । संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार दिवस च्याउ उत्पादनमा संलग्न किसानलाई संगठित गर्दै आत्मनिर्भर बनाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने लामो समयदेखि गरिएको पहलको परिणाम हो ।

बिज्ञापन

भृकुटीमण्डपमा सञ्चालन हुने च्याउ मेला कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मेलामा च्याउ किसान र विज्ञबीच छलफल, ४० भन्दा बढी स्टलमा च्याउ उत्पादन, जात र आवश्यक उपकरणको प्रदर्शनी, च्याउका विभिन्न परिकारको स्वाद तथा प्रदर्शनीका साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसमेत रहने बताइएको छ ।

संघका अध्यक्ष कार्कीले च्याउ उत्पादनका लागि प्रयोग हुने पराल, छ्वाली, गहुँको भुसजस्ता कच्चा पदार्थ पहिले जलाउने गरिएकामा अहिले स्थानीय स्रोत प्रयोग गरेर वातावरणमैत्री तरिकाले च्याउ उत्पादनमा प्रयोग हुँदै आएको बताउनुभएको छ । संघका अनुसार नेपालमा गोभ्रे, कन्य, सिताके, दूधेजस्ता च्याउ व्यावसायिकरूपमा उत्पादन भइरहेका छन् भने करिब ३६ हजार किसान च्याउखेतीमा संलग्न छन् । वार्षिक करिब २० अर्ब रुपैयाँ बराबरको च्याउको कारोबार हुने गरेको छ ।

नेपालमा प्राचीनकालदेखि वनजंगलमा पाइने च्याउ उपभोग हुँदै आएको छ तर व्यावसायिक खेतीको प्रविधि २०३७ सालपछि फैलन थालेको हो । हाल देशका ७० जिल्लामा च्याउखेती फैलिएको छ भने करिब ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ । संघले खुला बजार अर्थनीतिका कारण नेपाली किसानले छिमेकी मुलुकका सस्ता उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीलाई अवसरमा बदल्न अध्ययन, अनुसन्धान, व्यावसायीकरण र आधुनिकीकरणमा जोड दिँदै आएको छ ।