आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक

# आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, पुष १२, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक

काठमाडौँ :  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। यसपालि गत निर्वाचनको तुलनामा ९ लाख १५ हजार ११९ जना मतदाता थपिएका छन्।

अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। मतदाता नामावली आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ।

बिज्ञापन
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम र मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकको विवरण समेत अद्यावधिक गरी अन्तिम नामावली प्रकाशित गरिएको हो।

आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्।

प्रतिक्रिया दिनुहोस !
up