
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू पुसभित्रै १५औं महाधिवेशन गर्न तयार नदेखिएपछि कांग्रेसमा फेरि विवाद बल्झेको छ।

नियमित महाधिवेशन हुने अवस्था नदेखिँदा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन गर्न फेरि माग राख्दै आज केन्द्रीय कार्यालय पुगेर स्मरण पत्र बुझाएका छन्। पुस २८ गतेभित्रै विशेष महाधिवेशन आयोजना गर्न मिति र स्थान तोक्न उनीहरूको माग छ।

बिना महाधिवेशन र बिना नयाँ नेतृत्व कांग्रेसलाई चुनावमा लैजाने खोजियो भने आफूले त्यस्तो चुनावमा भाग नलिने संकेत महामन्त्री गगन थापाले कांग्रेस कार्यसम्पादन समिति बैठकमा गरेका छन्।


खासमा महाधिवेशन र चुनावका बारेमा उनका धारणा के हुन्? के उनले यसपालि चुनावमा नउठ्ने नै निर्णय गरेका हुन्? यसबारे हामीले महामन्त्री गगन थापा सँग कुराकानी गरेका छौं। उनको भनाइको सम्पादित अंश-
म नेपाली कांग्रेसको महामन्त्री छु, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ बाट एकल सिफारिस भएको छु। अरू ३ ठाउँबाट पनि साथीहरूले उम्मेदवार हुन आइदिनुस् भन्ने चाहना राख्नुभएको छ। मेरो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवार बन्नु छ मलाई। त्यहाँका साथीहरूले फेरि निर्वाचित गराउनुहुन्छ भन्ने कुरामा अलमल पनि छैन। म यसपालि निर्वाचन लड्ने वा नलड्ने भन्ने मुख्य विषय होइन। तर मैले एउटा कुरा पार्टीभित्र निरन्तर उठाउँदै आएको छु। त्यो के हो भने- नेपाली कांग्रेस पार्टीले निर्वाचनभन्दा पहिला अनिवार्य रूपमा अधिवेशन गर्नुपर्छ। अधिवेशन किन गर्नुपर्छ भने त्यो अधिवेशनले नयाँ नेतृत्व छान्छ, पार्टीले नागरिकसँग एउटा नयाँ संकल्प गर्छ र त्यसले पार्टीप्रति नागरिकमा नयाँ विश्वास जन्माउँछ।
यसपालि कांग्रेस पार्टीले अधिवेशन नगरी निर्वाचनमा जानु भनेको यो भदौ २३ र २४ गते भएका सबै आन्दोलन र घटनाहरूलाई खारेज गर्नु हो। सरकार र राज्यप्रति लामो समयदेखि आम नागरिकहरूमा एकप्रकारको असन्तुष्टि रह्यो। भदौ २३ गते मुख्य रूपमा त्यही असन्तुष्टि प्रकट भएको हो। त्यसलाई नकारेर वा खारेज गरेर नेपाली कांग्रेस अघि बढ्न सक्दैन। त्यस कारण हामीले महाधिवेशन गर्नैपर्छ। यो मेरो मात्र कुरा होइन। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले यसै कारण विशेष महाधिवेशनको माग गर्नुभएको छ। यो मागको एजेन्डा स्पष्ट छ, यो अधिवेशनबाट विगतको समीक्षा हुनुपर्छ, नयाँ नेतृत्व र भरोसासहित कांग्रेस जनतामा जानुपर्छ।
नियमित अधिवेशन गर्न पनि हामीसँग प्रशस्त समय थियो। जुन बेला हामीले यो विषय उठायौं, त्यो बेला ३ महिना समय थियो। त्यो समयभर दर्जनौं कुरा गरेर यो कुरालाई टार्ने काम भयो।
बिना महाधिवेशन, बिना नयाँ नेतृत्व महाधिवेशनमा जाने हो भने त्यो बेला चुनावमा उठ्ने मेरो जिम्मेवारी हुँदैन। त्यो बेलामा म कांग्रेसमा रहेको परिवर्तनको चाहनालाई सम्बोधन गर्न परिवर्तनको झण्डालाई थप दृढताका साथ उभ्याउनुपर्ने र उठाउनुपर्ने जिम्मेवारीमा हुनेछु। त्यस्तो अवस्थामा म चुनावमा होइन, कांग्रेसका नेताको घरदैलोमा जानुपर्ने हुन्छ। त्यसैले म चुनावमा उठ्ने नउठ्ने मुख्य कुरा होइन।
नेपाली कांग्रेसको नयाँ अधिवेशनबाट नयाँ नेतृत्व अहिले ल्याउन सकियो भने म एउटा दावाका साथ भन्छु- कांग्रेसप्रति जनताको विश्वास छ र रहनेछ। निर्वाचन सधैं लोकप्रियताले मात्रै जितिन्न विश्वासले पनि जितिन्छ। जनताले नेपाली कांग्रेसलाई नै विश्वास गर्नुहुन्छ र कांग्रेस पहिलो दल बन्छ।
कांग्रेसलाई सच्याएर चुनावमा जाने हो भने कांग्रेस पहिलो पार्टी बन्छ। मलाई यसमा विश्वास छ। कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्छु भन्ने आत्मविश्वास मलाई किन छ भने पार्टीका साथीहरू र शुभेच्छुकहरूप्रति मलाई पूर्ण विश्वास छ।


