
काठमाडौँ – नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार, आइतबार बिहान करिब ६:३० बजे कलेजको मुख्य गेटतर्फको पाँचौँ तलाबाट ३४ वर्षीय अमित यादव खसेर गम्भीर घाइते भएका थिए। यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका निवासी थिए।
बिज्ञापन

पाँचौँ तलाबाट खसेपछि यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तुरुन्तै सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यादव नोबेल मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




