

काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतको झिनो अन्तरले पराजित भएका नेता गोकुल बास्कोटा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सचिव पदका उम्मेदवार रहेका बास्कोटा मतगणनाको अन्तिम चरणसम्म प्रतिस्पर्धामा रहे पनि अन्ततः पराजित भएका थिए। यद्यपि, पार्टी विधानअनुसार पदाधिकारी पदका उम्मेदवार केन्द्रीय सदस्यमा स्वतः उम्मेदवार हुने व्यवस्थाअनुसार उनी खुला केन्द्रीय सदस्यतर्फबाट उम्मेदवार बनेका थिए।


खुला केन्द्रीय सदस्यतर्फ बास्कोटाले १ हजार १ सय ९५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। सचिव पदमा पराजय व्यहोरे पनि उल्लेख्य मतका साथ केन्द्रीय सदस्यमा विजयी हुनुले पार्टीभित्र उनको राजनीतिक पकड र समर्थन बलियो रहेको सन्देश दिएको छ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम क्रमशः सार्वजनिक हुँदै आएका छन्।


