प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

# प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत सोङले चीन नेपालका लागि घनिष्ठ मित्र रहेको उल्लेख गर्दै नेपालको विकास निर्माणका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बिज्ञापन
प्रधानमन्त्री कार्कीले राजदूत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएकोमा बधाई ज्ञापन गर्दै सुखद यात्राको कामना गर्नुभयो। साथै उहाँले नेपाल एक–चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने स्पष्ट धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले चीनबाट सदाझैँ नेपालका विकास निर्माणका प्रयासमा निरन्तर साथ, समर्थन र सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up