
पर्सा प्रहरीद्वारा ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट चारजना पक्राउ परेका छन्

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुईजना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा रहेका छन् ।


प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले मंसिर २३ गते साँझ करिब ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा–१५, प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको वाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक ईभी गाडीलाई कानुनी रित पुर्याई जाँच गरेको थियो ।
जाँचको क्रममा दुईजना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङको सुटकेसभित्र लुकाइ छिपाइ राखिएको ६० हजार ५३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । थप अनुसन्धानपश्चात पर्साकाे वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने स्थानबाट सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा एक कार्टुनभित्र १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएको थियो ।
बरामद भएको लागुऔषधको कुल संख्या ७६ हजार १७० पिस ट्याब्लेट रहेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४, रामगढवा बस्ने २० वर्षीय युवराज पटेल र २१ वर्षीय अफजल देवान छन् । अन्य पक्राउ पर्नेहरूमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बस्ने १९ वर्षीय रामहरि मगर र सिद्धलेक गाउँपालिका–७ बस्ने १९ वर्षीय राजकुमार मगराती छन् ।


