लमजुङ प्रहरीको सफलता : प्रहरी हवल्दारको हत्या अभियोगमा ८ महिनापछि आरोपी पक्राउ

 

लमजुङको बेसीसहर –२ भकुण्डे निवासी पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई ८ महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ।

बिज्ञापन

हत्यापछि भारतका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका चितवन रत्ननगर नगरपालिका – ७ का ४७ वर्षीय बुद्धिराम दरैलाई प्रहरीले नेपाल फर्कँदै गर्दा सिमानाकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार हत्याका मुख्य आरोपी दरैलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को समन्वयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया नाकाबाट बिहीबार पक्राउ गरिएको थियो।

यसरी खुलेको थियो घटना

गत चैत अन्तिम साता मृतक कँडेलको घर ३/४ दिनदेखि बन्द रहेको र घरको झ्यालमा झिँगाहरू भन्किएर दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घरको ताला फोडेर हेर्दा सुत्ने कोठाको बक्स पलङ (लोबेड) भित्र त्रिपालले बेरेको अवस्थामा ४६ वर्षीया कँडेलको सडेगलेको शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा गत चैत २७ गते नै कँडेलको हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याराको पहिचान भए पनि आरोपी भारतमा लुकीछिपी बसेका कारण पक्राउ गर्न समय लागेको लमजुङ प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका दरै पेशेवर अपराधी रहेको खुलेको छ। उनी यसअघि पनि कर्तव्य ज्यान मुद्दामा १२ वर्ष जेल सजाय काटेर निस्किएका व्यक्ति हुन्।

दरैलाई २०६७ सालमा एक कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। पछि सर्वोच्च अदालतले २०७१ सालमा १२ वर्ष कैद कायम गरेपछि उनी कैद भुक्तान गरी २०७६ असोज ३ गते धादिङ कारागारबाट रिहा भएका थिए।

पक्राउ परेका दरैलाई लमजुङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।