
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नगरी, नागरिकको जीवनस्तर सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने बनाउनु आवश्यक रहेको बताएका छन्।

शनिवार ललितपुर महानगरपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, “पूर्वाधार निर्माण मात्र पर्याप्त होइन, नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको चेहेरामा खुशी ल्याउने विकास आजको आवश्यकता हो। यसको लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्त्वपूर्ण छन्।”

राष्ट्रपति पौडेलले लोकतान्त्रिक आचरण र शैलीको महत्त्व पनि जोड दिए। उनले जनताको गुनासो र असन्तुष्टिहरूलाई सुन्न र बुझ्न घरदैलोमा पुग्नुपर्ने आवश्यकतामा बल दिँदै भने, “लोकतन्त्र केवल शासन व्यवस्थासम्म सीमित छैन, यो जनताको आवाज सुन्ने र उनीहरूको चाहनाअनुसार काम गर्ने संस्कार र शैली हो। यो लोकहितमा समर्पित असल आचरण र चरित्र हो।”


उनले नयाँ पुस्ताको चाहना र अपेक्षालाई समझेर राजनीतिक नेतृत्वले त्यसअनुसार आफूलाई रुपान्तरण गर्दै मुलुकको विकासमा योगदान पुर्याउनु पर्नेमा जोड दिए। “नयाँ पुस्ताको यो चाहना बुझेर हामीले राजनीतिक नेतृत्वलाई रुपान्तरण गर्दै लैजानु आजको साझा दायित्व हो,” राष्ट्रपति पौडेलले थपे।


