मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य

# मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर ०८, २०८२
मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य

काभ्रेपलान्चोक – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा मतपत्रमा कुन दलको निर्वाचन चिह्न कहाँ पर्छ भन्ने सबैको चासोको विषय बनेको छ । यद्यपि कसको निर्वाचन चिह्न कहाँ पर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशिकामै स्पष्ट व्यवस्था छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका मा स्पष्ट व्यवस्था अनुसार र २०७९ को समानुपातिकतर्फ प्राप्त मत परिणामका आधारमा आगामी निर्वाचनको मतपत्रको क्रम लगभग तय भइसकेको छ । निर्देशिकाको दफा ४४ ले मतपत्रमा दलगत र स्वतन्त्र उम्मेदवारको चिह्न कसरी राखिन्छ भन्ने स्पष्ट व्यवस्था गरेको आयोगका सचिव महादेव पन्थले बताए ।
निर्देशिकाका दफा ४४ को उपदफा (१) (क) अनुसार, आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा २०७९ सालमा निर्वाचनमा भाग लिएका दलको हकमा त्यतिबेला समानुपातिकतर्फ प्राप्त गरेको मतको सङ्ख्याको आधारमा राखिन्छ । अर्थात जसले धेरै मत प्राप्त गरेको थियो, उक्त दलको निर्वाचन चिह्न सबैभन्दा पहिले र त्यसपछि क्रमशः मत पाउनेको निर्वाचन चिह्न पछि रहनेछ । यस आधारमा आगामी मतपत्रको सुरुआत २०७९ को मत परिणामका आधारमा हुनेछ । जसमा पहिलो नम्बरमा नेकपा (एमाले) को ‘सूर्य’ चिह्न रहनेछ भने दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’ रहनेछ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो भने कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो ।
यस्तै तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ‘तारा’ निर्वाचन चिह्न रहनेछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालीन नेकपा (एकीकृत समाजवादी) दुवैले प्राप्त गरेको मत परिणाम जोड्दा एकीकरणपछि बनेको पार्टी नेकपाको १४ लाख ७४ हजार ७५ मत पुग्छ । यस्तै चौथो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ रहनेछ । रास्वपाले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको थियो । पाँचौ नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्वाचन चिह्न ‘हलो’ रहनेछ । गत निर्वाचनमा राप्रपाले ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरेको थियो । यी दल आगामी प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा अग्रपङ्क्तिमा रहनेछन् ।
एकीकरण भएका दलका मत ‘जम्मा गरेर’ गणना गरिन्छ । निर्देशिकाको दफा ४४ को उपदफा (१) को खण्ड ‘ख’ अनुसार, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा सदस्य रहेको दल एकीकृत भएमा पहिले प्राप्त गरेका मत जोडेर नयाँ दलको मत मानिनेछ । यस प्रावधानले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई तेस्रो स्थानमा उकासेको हो । तत्कालीन नेकपा (माओवादी केन्द्र)को गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ र तत्कालीन नेकपा एसको २ लाख ९८ हजार ३९१ मत थियो । दुवै दलको जम्मा गरेर १४ लाख ७४ हजार ७५ मत पुग्छ ।
गत निर्वाचनमा भाग नलिने दल निर्वाचन प्रयोजनका लागि दर्ता भएको नम्बरका आधारमा यसैबीच गत निर्वाचनमा भाग नलिएका नयाँ दलले भने दल दर्ता प्रयोजनका लागि दल दर्ता गराएको नम्बरका आधारमा मतपत्रमा उक्त पार्टीको निर्वाचन चिह्न रहनेछ ।
निर्देशिकको दफा ४४ को उपदफा (१) को खण्ड (ग) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने दलको चिह्न निर्वाचन आयोगमा दर्ता भएको क्रम अनुसार राखिनेछ । यही कारण अहिले नयाँ दर्ता भएका दर्जनौं दलको चिह्न निर्वाचन प्रयोजनका लागि दल दर्ता क्रमअनुसार पछाडि समावेश हुनेछन् । पुरानो दलबाट फुटेर बनेको दलको चिह्न तत्कालीन दलको लगत्तै पछाडि, यस्तै यसअघि एउटै दल रहेको तर, ४० प्रतिशत वा २० प्रतिशत फुटाउन मिल्ने कानूनी व्यवस्था अनुसार फुटेको दलको निर्वाचन चिह्न तत्कालीन दलको लगत्तै रहने व्यवस्था छ ।
निर्देशिकको दफा ४४ को उपदफा (१) को व्यवस्था अनुसार कुनै दल प्रतिनिधित्व गर्ने दलबाट अलगिएर नयाँ दल बनेको भए त्यसको चिह्न २०७९ को मत क्रमपछि राखिन्छ । यस निर्देशिका अनुसार अशोक राई नेतृत्वको जसपा नेपालको निर्वाचन चिह्न उपेन्द्र यादव नेतृत्वको जसपाको छाता निर्वाचन चिह्न लगत्तै पछाडि समावेश हुनेछ । कुनै पनि दलबाट नभएर स्वतन्त्र उम्मेदवारी दिनेको निर्वाचन चिह्न नेपाली वर्णानुक्रममा राखिनेछ । निर्देशिकाको दफा ४४ को उपदफा (१) को खण्ड (घ) अनुसार स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न उसको नेपाली अक्षरको वर्णानुक्रम अनुसार राखिनेछ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब १३० दल दर्ता भइसकेका छन् । निर्वाचन प्रयोजनका लागि ३० भन्दा बढी दल दर्ताको प्रक्रियामा छन् । यदि सबै दर्ता भए यसपटक नेपालको इतिहासमै सबैभन्दा ठूलो मतपत्र बन्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up