मौसमको कारण लुक्ला उडान बन्द, सगरमाथा जाने पर्यटक होटलमै अल्झिए

काठमाडौँ – प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई सेवा ठप्प छ। लगातार सिमसिमे वर्षा र घना कुहिरोका कारण विमान मात्रै होइन, हेलिकप्टर पनि उड्न सकेका छैनन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार बिहीबारदेखि कुनै उडान हुन सकेको छैन। उनका अनुसार सामान्य अवस्थामा दैनिक औसत ६० उडान हुने गर्दथे, तर हाल सबै स्थगित भएका छन्।

बिज्ञापन

हवाई उडान अवरुद्ध भएपछि लुक्लादेखि नाम्चे बजारसम्मका होटल र गेस्टहाउस पर्यटकले खचाखच भरिएका छन्। तारा एयरका इञ्चार्ज अमृत मगरका अनुसार करिब १,५०० पर्यटक लुक्लामै अड्किएका छन्। “साना होटलदेखि ठूला रेजोर्टसम्म सबै भरिएका छन्, नयाँ पाहुनालाई कोठा पाउन मुस्किल भएको छ,” उनले बताए।

स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार होटलहरूले पाहुनालाई लबीमै बसाल्नु परेको छ। फ्रान्सकी पर्यटक ज्युली मारीले भनिन्, “हामी सगरमाथा आधारशिविरबाट फर्केर तीन दिनदेखि लुक्लामै रोकिएका छौँ, उडान कहिले हुन्छ थाहा छैन।”

नाम्चे बजारमा पनि उस्तै अवस्था छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार नाम्चेमै करिब १,२०० पर्यटक रोकिएका छन्। “लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परेकाले सबै पर्यटक तल झरेका छन्, होटलहरूमा शतप्रतिशत अकुपेन्सी छ,” उनले बताए।

नाम्चेमा घाम नदेखिएको चार दिन भइसकेको स्थानीय टेक राई बताउँछन्। उनका अनुसार पर्यटकहरू पुस्तक पढ्दै र संगीत सुन्दै समय बिताइरहेका छन्।

उडान ठप्प भएपछि केही पर्यटक स्थलमार्ग हुँदै सल्लेरीमार्गबाट काठमाडौँ फर्कने प्रयासमा छन्, तर त्यो बाटो पनि सहज छैन। पर्यटन व्यवसायी बल दर्नालका अनुसार बर्खाका कारण सोलुखुम्बु–काठमाडौँ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र हिलोले आवागमन अवरुद्ध बनेको छ।

काठमाडौँस्थित जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन अझै सक्रिय रहँदा हिमाली र पहाडी क्षेत्रमा आगामी दुईदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना छ। “मौसम विस्तारै मात्र खुल्ने देखिन्छ,” उनले भने।