



पनौती, काभ्रे — पनौती नगरपालिका वडा नं. ३ द्वारा संचालित २१ दिने निःशुल्क बारिष्टा तालिम सोमबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाकी उप–प्रमुख गिता बन्जार तथा विशिष्ट अतिथि विष्णु प्रसाद सापकोटा रहेका थिए। सो अवसरमा नारायण बहादुर लामा कार्यक्रमको अध्यक्षतामा रहेका थिए।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप–प्रमुख बन्जारले युवाहरूलाई दक्ष र आत्मनिर्भर बनाउन यस्ता तालिमहरू अत्यन्तै उपयोगी रहेको बताइन्। उनले भनिन्, “नेपालमा रोजगारीको अवसर सिर्जना गर्न युवालाई सीपमूलक तालिम अत्यावश्यक छ। यस्तो बारिष्टा तालिमले युवामा आत्मविश्वास र रोजगारीको नयाँ ढोका खोल्नेछ।”
त्यसैगरी विशिष्ट अतिथि सापकोटाले युवाहरूले सिकेका सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्दै भने, “हाम्रो देशमा अवसरहरूको कमी छैन, चाहिँ आत्मविश्वास र सीप चाहिन्छ। तालिमले त्यो बाटो देखाएको छ।”

कार्यक्रममा प्रगती प्रभात एकेडेमीका सह–प्रधानाध्यापक सुरेश सापकोटा र पत्रकार अरविन्द्र गौतमले समेत शुभकामना मन्तव्य राख्दै तालिमको सफल आयोजनाका लागि आयोजक टोलीलाई धन्यवाद ज्ञापन गरे।
२१ दिनसम्म चलेको उक्त तालिममा ३५ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरको संयोजनमा गरिएको हो। सेन्टरका निर्देशक तथा कार्यक्रम संयोजक कामदेव शाहले तालिममा प्रशिक्षक मिनु शाह र सजिना दुलालले व्यावहारिक प्रशिक्षण प्रदान गरेको जानकारी दिए।
उनका अनुसार सेन्टरले वेटर, बारिष्टा, कुक, वार टेन्डिङ, सुसी, हाउसकिपिङ र होटल म्यानेजमेन्ट लगायतका तालिम अनुभवी तथा दक्ष प्रशिक्षकबाट गुणस्तरीय रूपमा सञ्चालन गर्दै आएको छ।
विद्यार्थीहरूले पनि यस्तो तालिमले उनीहरूको आत्मविश्वास बढाएको र भविष्यमा रोजगारीका नयाँ अवसरहरू खोज्ने प्रेरणा दिएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरी समापन गरिएको थियो।