



काठमाडौं, साउन ३०
प्रहरी वृत्त बालाजुका प्रमुख ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले अवैध हतियारसहित धादिङका एक युवकलाई पक्राउ गरेको छ।
बिज्ञापन



पक्राउ पर्नेमा धादिङ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६, चमतीमा डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराइ रहेका छन्। साउन २९ गते राति करिब १०ः४५ बजे टोखा नगरपालिका–९ स्थित होटलमा बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दराइको डेरामा गरिएको खोजतलासका क्रममा ७.६५ एम एम को अटोमेटिक पेस्तोल १ थान र ७ राउण्ड गोली बरामद भएको हो। बरामद हतियारसहित उनलाई नियन्त्रणमा लिएर हाल प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
साथै, दराइविरुद्ध यसअघि नै २०७८ साल असोज १८ गते प्रहरी वृत्त कीर्तिपुरमा लागू औषध मुद्दा दर्ता भएको तथ्य खुलेको छ।