कार्यसम्पादनमा काभ्रेको स्थानीय तहमध्य पहिलो भयो रोशी गाउँपालिका

काभ्रेपलान्चोक – आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेप्क्लाञ्चोक जिल्लाको १३ स्थानीय तहहरू मध्ये रोशी गाउँपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार रोशी गाउँपालिकाले ४८.३९ अंक प्राप्त गरी काभ्रेकै पहिलो बनेको हो।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको थियो। जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार ७ मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

बिज्ञापन

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को १ तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूणर् खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् । स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने छ।

आयोगको नतिजा अनुसार जिल्लाको पाँचखाल नगरपालिका दोस्रो स्थानमा परेको छ । पाँचखाल नगरपालिकाले ४१.७३ अंक प्राप्त गरेको छ। त्यसरी नै तेस्रो नम्बरमा चौरीदेउराली गाउँपालिका परेको छ । चौरीदेउराली गाउँपालिकाले ३९.५८ अंक प्राप्त गरेको छ । ३७.५३ अंकका साथ ४ धुलिखेल नगरपालिका चौथो नम्बरमा परेको छ भने १८.८२ अंकका साथ पनौती नगरपालिका अन्तीममा परेको छ ।त्यसरी नै बनेपा नगरपालिकाले ३७.५ अंक, महाभारत गाउँपालिकाले ३४.२२ अंक, तेमाल गाउँपालिकाले २८.२४ अंक, नमोबुद्ध नगरपालिकाले २८ अंक, खानीखोला गाउँपालिकाले २६.३४ अंक, बेथानचोक गाउँपालिकाले २५.४४ अंक, मण्डनदेउपुर नगरपालिकाले २२.२८ अंक र भूम्लु गाउँपालिकाले १९.५० अंक प्राप्त गरेको छ ।