

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभा हलमा समारी इन्टरनेशनलको आयोजनामा सम्पन्न विशेष सम्मान समारोहमा सौन्दर्य र मनोरञ्जन क्षेत्रकी चर्चित मेकअप आर्टिस्ट सदिक्ष्या कर्माचार्यलाई ‘राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२’ अन्तर्गत ‘बेस्ट मेकअप आर्टिस्ट’ को अवार्ड प्रदान गरिएको छ।


विगत लामो समयदेखि नेपाली गीत–संगीत तथा मनोरञ्जन क्षेत्रमा सक्रिय रहँदै आएकी कर्माचार्यले आफ्ना सिर्जनात्मक मेकअप कला र परिश्रमबाट थुप्रै सुपरहिट म्युजिक भिडियो तथा कार्यक्रमहरूमा कलाकारहरूको प्रस्तुति र सौन्दर्यलाई निखार्ने उल्लेखनीय योगदान दिँदै आएकी छन्।



कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाको हातबाट अवार्ड ग्रहण गरेकी कर्माचार्यको यस सम्मानलाई नेपाली सौन्दर्य उद्योगका लागि एक प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

उनीजस्तै सिपालु, समर्पित र सिर्जनशील व्यक्तित्वलाई सम्मान गर्न पाउँदा आयोजक संस्थाले गर्वको अनुभूति गरेको बताएको छ। सदिक्ष्याको यो सफलता आगामी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास लिइएको छ।