

काठमाडौँ, २०८२ साउन १० तेमाल गाउँपालिकाद्वारा सञ्चालित सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर आज काठमाडौँको कुमारिगालस्थित आकाशगंगा स्कुलमा सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा जम्मा ६२ जना ज्येष्ठ नागरिकले आफ्नो सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन्।


शिविरको नेतृत्व पञ्जिकरण शाखा प्रमुख उद्वव प्रसाद पाण्डेले गर्नुभएको थियो। साथै, नवीकरण प्रक्रिया सहज, द्रुत र प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाबाट रामराज खरेल, इन्द्रबहादुर चिमौरिया र अनिता श्रेष्ठ समेत खटिएका थिए। टोलीको समन्वय र सक्रियताले सेवा प्रक्रियालाई व्यवस्थित र जनमैत्री बनाउन सहयोग पुर्याएको सहभागीहरूको भनाइ छ।



शिविर सञ्चालनको सम्पूर्ण अवधिभर गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा स्वयं उपस्थित रहनु भएको थियो। अध्यक्ष लामाको प्रत्यक्ष निगरानी र संलग्नताले शिविरमा थप ऊर्जा, उत्साह र विश्वास सिर्जना गरेको सहभागीहरू बताउँछन्।

यस अवसरमा आकाशगंगा स्कुल, कुमारिगालले स्थान उपलब्ध गराई सहकार्य प्रस्तुत गरेकोमा गाउँपालिका तथा आयोजक टोलीले विद्यालय प्रशासनप्रति आभार व्यक्त गरेका छन्।
शिविरपछि सहभागी बृद्धबृद्धाहरूले सेवा सहज, व्यवस्थित र घरनजिकै उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै गाउँपालिका तथा आयोजनामा संलग्न सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले सेवाप्राप्तिका लागि लामो दूरीको यात्रा गर्नु नपर्ने भएकाले थप राहत र सम्मानको अनुभव भएको बताएका छन्।
तेमाल गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता जनमुखी सेवा अभियानलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।