सानैदेखि फिल्मप्रेमी थिए दुर्गालाल प्रधान। स्कुल पढ्दादेखि नै घरबाट लुकिछिपी हल जान्थे। बुबाको बागबजारस्थित कपडाको पसलमा बसे पनि मन सधैं पर्दातिरै तानिन्थ्यो। फिल्मप्रतिको यही गहिरो मोहले उनको जीवनलाई अर्कै दिशा दियो।
२०५७ सालतिरको कुरा हो। उनका बुबाले बनेपामा घर बनाउने योजना बनाइरहेका थिए। घरको नक्सा बनिरहेको थियो, ३० लाख रुपैयाँको जोहो पनि भइसकेको थियो। तर दुर्गालालको मनमा भने घर होइन, हलको सपना उम्लिरहेको थियो!
एकदिन उनी काठमाडौँ प्लाजाको हलमा फिल्म हेर्दै गर्दा सोचे — “बनेपामा पनि यस्तै हल भए कति राम्रो!” त्यसपछि उनले बुबासँग आफ्ना सपना बाँडे — “घर होइन, हल बनाउँछु।”
बुबाले हाँस्दै उडाइदिए — “फिल्म हल खोलेर के हुन्छ? पैसाको खेर मात्र!”
तर दुर्गालाल थाकेनन्। एक शनिबार उनी बुबालाई लगनखेलको ललित हलमा लगे। हलभित्रको भीडले बुबालाई सोच्न बाध्य बनायो।“यसमा त साँच्चै पैसा रहेछ” त्यसपछि घर परिवार र आफन्तको विवाद बिच पनि घरको नक्सा फालियो र हलको नक्सा तयार भयो।
बनेपामा “शुभकामना हाइभिजन हल” बन्न थाल्यो। तर सपनाको बाटो सजिलो कहाँ हुँदो रहेछ? सहरकै ठूलो मयुर हलको छेउमा सानो पर्दा भएको हल खोल्न खोज्दा सबैले हँसे। आफन्त, चिनजानका मान्छेहरू त झन् दुख ब्यक्त गर्न थाले सबैले भन्थे “केटो ले दुख पाउने भयो”
“घर बनाएको भए त भाडा आउँथ्यो, यो हल बनाएर के काम?”
दुर्गालालले ऋण लिए। पसलको नाममा कर्जा झिके। प्रोजेक्टर, पर्दा, साउन्ड सिस्टम ल्याए। हल तयार भयो। तर सुरुका एक वर्ष दर्शक आउँदैनथे, घाटा मात्र हुन्थ्यो। बिहान बेलुकीको गाली, घरभित्रको चिसोपन, ऋण दिनेहरूको दबाब— उनले शान्त भई सहनुपर्यो।
“दु:ख त भो, तर सपना त सस्तोमा पाइँदैन,” उनी सम्झन्छन्।
आखिर संघर्षले रंग लियो। हल चल्न थाल्यो, दर्शक बिस्तारै आउन थाले। नेपाली फिल्मप्रतिको प्रेम झनै बलियो बन्दै गयो!
यतिबेलासम्म उनले हललाई टिकाउन आफ्नो फिल्म वितरण कार्य समेत सुरु गरिसकेका थिए। देशैभरका हाईभिजन (देशका विकट कुना कान्तारा)हलहरूमा फिल्म पठाउने, आफैं दौडेर सम्पर्क राख्ने — त्यो समय माओवादी द्वन्द्व चलिरहेको थियो। यात्रा असुरक्षित थियो। तर उनले हिम्मत हारेनन्।
पछि उनले हललाई आधुनिक बनाउँदै करोड भन्दा धेरै रुपैयाँ लगानी गरे। तर समय फेरि कठोर बन्यो — कोरोना महामारी आयो। हल पुरै बन्द भयो। पसलको व्यापार पनि ठप्प भयो। त्यहि हल बाट त स्टाफको पारिश्रमिक, घरको खर्च, ऋणको ब्याज तिरिन्थ्यो। थिचोमिचो बढ्दै गयो! उनि झन मर्कामा परे!
तर दुर्गालाल फेरि पनि टुटेनन्। आफ्नो कपडाको ब्यबसायमा अफर दिए, सुट ६ हजारमै बेच्न थाले — “ग्राहकलाई राहत होस्, मलाई पनि केही सहारा मिलोस! भन्दै उनले पसलबाट आम्दानि गर्दै हलको खर्च तलब सबै धान्न थाले! उनि मास्क र एप्रोन लगाएर लुकि लुकि भएपनि हरेक महिना आफ्ना कर्मचारिलाई तलब दिन हल पुग्दथे!
आज पनि बनेपाको “शुभकामना हल” उभिएको छ — त्यो हल होइन, एउटा दुर्गालालको सपना हो, जसमा दुर्गालालको आँसु, पसिना र साहस मिसिएको छ। सस्तो सुलभ दरमै आजको समयमा पनि सबैलाई फिल्म देखाउने उनको सपना पुरा हुदै गरेको उनि बताउछन!
“भाडा मा देको भए त पैसा दिन्थ्यो होला,” उनी भन्छन्,
“तर हलले मलाई पहिचान दियो। सपना भनेको इँटाको घर होइन रहेछ, त्यो पर्दामा देखिने उज्यालो रहेछ।”
– सरोज चौलागाई