काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् ।

गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् ।

ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुसी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभइ देशको गौरव भएको बताइन् । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनको भनाइ छ ।

उनीबाहेक नेपालका थप तीन जना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्स्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट स्टेडियमका निर्देशक अष्ट्रेलिया निवासी विनोद कुँवरले दिएको जानकारी अनुसार नेपालकी मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल–थ्री मिस टिन ग्लाम वर्ल्ड–२०२५’, मोनिका कठायतले ‘सब टाइटल र मेडल–थ्री मिनी मिस ग्लाम इन्टरनेशनल–२०२५’ र अभिवन न्यौपानेले ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका छन् ।

‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी छन् । प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेशनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मल/लङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो ।

मे २४ देखि २९ अर्थात् जेठ १० देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २९ देशका ७३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाले ताज जित्नुले नेपालको सौन्दर्य, संस्कृति र प्रतिभाको पहिचान अझ प्रष्ट पारेको छ । यस्तो सफलताले नेपालको बाल र टिन प्रतिभालाई विश्वस्तरमा चिनाउने सम्भावनाको ढोकासमेत खोलेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly