काभ्रेपलान्चोक – छायाँछवि क्रियसनले ‘पाचौं काठमाडौं सर्ट फिल्म फेस्टा-२०२१’ सम्पन्न गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमबीच फिल्म फेस्टा-२०२१’ सम्पन्न भएको हो । समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्तै समारोहमा वरिष्ठ चलचित्र लेखक/निर्देशक एवं नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेता धिरेन शाक्य एवं अवार्ड जुरी संयोजक ऋषि लामिछाने विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्यो । फेस्टामा सहभागी सर्ट फिल्म तथा डकुमेन्ट्रीमध्ये अवार्डेड चलचित्रकर्मीलाई सो समारोहमा अवार्ड प्रदान गरिएको थियो । नवराज बुढाथोकी निर्देशित हाउस हजवेन्डले इन्करेजमेन्ट अवार्ड, लक्ष्मण सुवेदी निर्देशित मेहन्दीको रंगलाई बेस्ट कन्सेप्ट स्क्रिप्टको अवार्ड, दिपेन्द्र लामा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड, सरोज खनाल निर्देशित बिहानीमै अस्ताएको सूर्यलाई जुरी अवार्ड, कल्याण अधिकारीलाई सर्ट फिल्म निर्देशकको अवार्ड, पुरन जोशी निर्देशित महः पूजालाई उत्कृष्ट डकुमेन्ट्री एवं अभिनव श्रेष्ठ निर्देशित स्विट सिक्सटिनलाई उत्कृष्ट सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो । यसै समारोहमा वरिष्ठ रंगपत्रकार सविन शाक्यको स्मृतिमा स्थापित एवं फिल्मी पत्रिका फिल्मी खबरको नाममा स्थापना गरिएको फिल्मी खबर-सविन स्मृति रंग पत्रिकारिता पुरस्कारसमेत प्रदान गरियो । १० हजार १० रुपैयाँसहितको यो पुरस्कारमा विगत डेढ दशकदेखि रंग पत्रकारितामा संलग्न रही समग्र चलचित्र, संगीत एवं यस क्षेत्रको विकासमा योगदान पुर्याएबापत सुमन बैरागीलाई यो पुरस्कार प्रदान गरिएको थियो ।प्रमुख अतिथिको आसनबाट बोल्दै दाहालले चलचित्र उद्योगको वर्तमान अवस्था र चलचित्रको विकासमा अब के गर्नुपर्छ भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । समारोहमा आयोजक संस्था छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले स्वागत मन्तव्य राख्दै सर्ट फिल्म फेस्टा तथा फिल्मी खबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारका बारेमा प्रष्ट्याउनुभएको थियो । समारोहमा सर्ट फिल्म फेस्टाका जुरीहरू प्रवण भुसाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल एवं जुरी संयोजक ऋषि लामिछानेलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।